हल्दिबारी । अन्तर्राष्ट्रिय साक्षरता दिवसको सप्ताहका अवसरमा नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र (श्रद्धेय आश्रम, धुलाबारी) ले हल्दिबारी–२ स्थित श्री सरस्वती आधारभूत विद्यालयका २३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। समितिको शिक्षा अभियानअन्तर्गत बालकक्षादेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई उक्त सामग्री प्रदान गरिएको हो।

विद्यालय शिक्षक अभिभावक समितिका अध्यक्ष कमल फुयलको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि रचना कुलुङ प्रमुख अतिथि रहेकी थिइन्। त्यसैगरी, श्रद्धेय आश्रमका प्रमुख महात्मा सुवर्ण वाईजी र महात्मा धर्मिता वाईजीको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द बोहोराले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने मानव धर्म सेवा समिति युवा संगठनका अध्यक्ष एवं कार्यक्रम संयोजक आषिश संग्रौलाले अभियानको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए।
शैक्षिक सामग्री वितरणपछि प्रमुख अतिथि रचना कुलुङले विद्यार्थीलाई शुभकामना दिँदै शिक्षाको महत्त्व, अनुशासन र निरन्तर अध्ययनको आवश्यकतामाथि जोड दिइन्। विशिष्ट अतिथि महात्मा सुवर्ण वाईजीले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षाका माध्यमबाट बालबालिकाको व्यक्तित्व विकास र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए।
कालिका आधारभूत विद्यालयका शिक्षक एवं श्रद्धेय आश्रमका सदस्य समिरा रैका मगरले सञ्चालन गरेको उक्त कार्यक्रमले विद्यार्थीको अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
