हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापाको कन्काई साहारा सर्पदंश केन्द्रमा १,८९६ जनाको उपचार, वैशाखदेखि असोजसम्म सर्पदंशका बिरामीको उच्च चाप

नेत्र बिक्रम बिमली / कन्काई (झापा) — झापाको कन्काई-४, कोटीहोमस्थित कन्काई साहारा सर्पदंश व्यवस्थापन केन्द्रमा सर्पदंशका बिरामीहरूको संख्या गर्मी तथा वर्षायामका महिनाहरूमा ह्वात्तै बढ्ने गरेको पाइएको छ। केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार विशेषगरी वैशाखदेखि असोज महिनासम्म सर्पदंशका घटनाहरू अत्यधिक हुने गरेका छन्।

Advertisement

​चालू आर्थिक वर्ष २०८२/०८३ को तथ्यांक हेर्दा असारमा ४६, साउनमा ५१, भदौमा ४८, असोजमा १५, वैशाखमा २२ र जेठमा सबैभन्दा बढी ५६ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन्। यसरी वैशाखदेखि असोजसम्मको अवधिमा मात्रै २३८ जना बिरामी पुगेका छन्, जुन चालू वर्षको कुल २८६ बिरामी संख्याको ठूलो हिस्सा हो। चिसो मौसम सुरु हुने कात्तिकदेखि चैतसम्म भने बिरामीको संख्या उल्लेख्य रूपमा घटेर एक अंक वा सीमित संख्यामा झरेको देखिन्छ।

Advertisement

​यस आर्थिक वर्षमा कुल २८६ जना बिरामीमध्ये १२४ पुरुष र १६२ महिला रहेका छन्। तीमध्ये २२ जना विषालु सर्पको टोकाइबाट पीडित भएकामा २० जना सफल उपचारपछि निको भई घर फर्किएका छन् भने २ जनालाई थप उपचारका लागि माथिल्लो स्वास्थ्य संस्थामा रिफर गरिएको छ। चालू आर्थिक वर्षमा उपचारका क्रममा वा अस्पताल ल्याउँदा कसैको पनि मृत्यु भएको छैन।

​यसअघि आर्थिक वर्ष २०८१/०८२ सम्म केन्द्रले कुल १ हजार ६ सय १० जना सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिसकेको छ। जसमध्ये १ हजार ४ सय ८० जना विषरहित र १३० जना विषालु सर्पको टोकाइबाट पीडित थिए। रिफर गरिएका बाहेकका केसमा विषालु सर्पको उपचारको सफलता दर ८८ प्रतिशत रहेको केन्द्रले जनाएको छ। सो अवधिमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको थियो भने ११ जनालाई थप उपचारका लागि रिफर गरिएको र १३ जनालाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भइसकेको अवस्थामा पुर्‍याइएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)