हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

रसुवा बाढी: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, ४,९९६ अझै बेपत्ता

झापा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोको पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ। २०८३ भदौ २२ गते बिहान ११:०० बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण १,३५५ जनाले ज्यान गुमाएका छन्। जसमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रहरूबाट हालसम्म ९८ जनाको मात्र सनाखत भई शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

Advertisement

​बाढी तथा पहिरोका कारण अझै पनि करिब ४,९९६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाका १,९६७, नुवाकोटका २,३४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना रहेका छन्। विपद् क्षेत्रमा खोज, उद्धार तथा सुरक्षाका लागि नेपाल प्रहरीका ७,९१२, नेपाली सेनाका ९,२८७ र सशस्त्र प्रहरी बलका ४,२०३ गरी कुल २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी र उद्धार टोलीको प्रयासमा हालसम्म १३,३९६ जनाको जीवितै उद्धार गरिएको छ भने ६,६७२ जना घाइतेको उपचार भइरहेको छ। प्रभावितहरूका लागि ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई आश्रय दिइएको छ।

Advertisement

​उद्धार तथा राहत सामग्री ढुवानीका लागि नेपाली सेनाले १,१५७ पटक, निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले १९३ पटक हवाई उडान गरेका छन्। भदौ २१ गते रसुवामा हेलिकप्टर र ४ वटा ट्रक थप राहत सामग्री, जेनेरेटर, हाइजिन किट र स्टुडेन्ट किटसहित पठाइएको थियो। राहत कोषबाट सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत विनियोजन गरिसकेको छ।

​क्षेत्रगत पूर्वाधारको स्थिति हेर्दा नेपाल टेलिकमका १२० मध्ये ११७ टावर र एनसेलका ७८ मध्ये ७६ टावर पुनः सञ्चालनमा आइसकेका छन्। त्यसैगरी विद्युत् आपूर्तितर्फ रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा बिजुली सुचारु भएको छ। प्रभावित क्षेत्रमा ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल, १३ हजार लिटर हवाई इन्धन र ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको छ।

(स्रोतः गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)