मनामा (बहराइन) । नेपाली राजदूतावास, बहराइनको समन्वय तथा नेपाली क्लब बहराइनको आयोजनामा मनामास्थित २ अक्टोबर २०२६ का दिन ‘के सिटी कम्प्लेक्स हल’मा ‘श्रमिक सचेतना कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। बहराइनमा कार्यरत नेपाली श्रमिक तथा समग्र नेपाली समुदायलाई श्रमसम्बन्धी कानुनी, प्रशासनिक तथा सरकारी सेवाबारे व्यावहारिक जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको हो।


नेपाली क्लब बहराइनका अध्यक्ष दूत प्रसाद गुरुङ (दीपक) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन क्लबका महासचिव भुवन बिमलीले गरेका थिए।


कार्यक्रममा सम्बोधन गर्दै राजदूत वाग्लेले वैदेशिक रोजगारीका क्रममा स्थानीय कानुनको पालना, श्रम अधिकार र दूतावासले प्रदान गर्ने सेवाबारे सचेत रहन आग्रह गरे। “सचेत र सुसूचित श्रमिक नै सुरक्षित र सफल हुन्छन्,” उनले भने, “नेपाली श्रमिकहरूका समस्या समाधान र हकहित रक्षाका लागि दूतावास सधैं अग्रसर छ।”

सो अवसरमा बहराइनको श्रम बजार नियामक निकाय (LMRA) का प्रतिनिधि फहाद अब्दुलअजिज अल-अस्मीले स्थानीय श्रम कानुन, भिसा प्रक्रिया, श्रमिकका अधिकार तथा कर्तव्यबारे स्पष्ट पारेका थिए।

कार्यक्रममा नेपाली राजदूतावासका उप-नियोग प्रमुख केशव राज पन्थी, श्रम सहचारी सुनिता थापा र तृतीय सचिव दिप राज जोशीले श्रम तथा कन्सुलर सेवासम्बन्धी विषयमा प्रस्तुति (Presentation) दिएका थिए। कार्यक्रममा विशेष गरी:
- LMRA र स्थानीय श्रम प्रावधान: भिसा, स्थानीय श्रम कानुन र श्रमिकका जिम्मेवारी।
- श्रम स्वीकृति तथा SSF: श्रम स्वीकृतिको नवीकरण र नेपाल सरकारको सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध हुने प्रक्रिया।
- प्रशासनिक सेवाहरू: ई-पासपोर्टका लागि ‘Online Pre-enrollment’, कन्सुलर सेवाहरू र बहराइनको डिजिटल पहिचान प्रणाली (eKey/Advance eKey)।
- सेवा सुविधा: काम छाड्दा वा पदावधि सकिँदा पाइने क्षतिपूर्ति (Indemnity) सम्बन्धी कानुनी व्यवस्था।

कार्यक्रमको दोस्रो सत्रमा सहभागी नेपाली श्रमिक र विज्ञहरूबीच अन्तरक्रियात्मक ‘Q&A Session’ सञ्चालन गरिएको थियो। महासचिव भुवन बिमलीले सहजीकरण गरेको उक्त सत्रमा सहभागीहरूले रोजगारीका क्रममा भोगेका व्यावहारिक समस्या, भिसा सम्बन्धी द्विविधा र कानुनी जटिलताबारे राखेका जिज्ञासाको दूतावास तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले समाधान र मार्गदर्शन प्रस्तुत गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष दूत प्रसाद गुरुङ (दीपक) ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने दूतावास, LMRA प्रतिनिधि, स्वयंसेवक तथा सहभागी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद ज्ञापन गरे।

नेपाली क्लब बहराइनका पदाधिकारी, सल्लाहकार, स्वयंसेवक तथा स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण फेसबुक लाइभमार्फत पनि गरिएको थियो। आगामी दिनमा पनि प्रवासमा रहेका नेपालीहरूको हकहित र चेतनाका लागि यस्तै कार्यक्रमलाई निरन्तरता दिइने क्लबले जनाएको छ।


