हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

झापाको बिर्तामोडमा सन्थाल भाषा र संस्कृतिको संरक्षणका लागि ‘सिर्जन मिडिया’को स्टुडियो उद्घाटन

झापा। झापाको बिर्तामोड–२, चारपानेस्थित ‘सिर्जन मिडिया प्रा.लि.’को नवनिर्मित स्टुडियो आइतबार एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ। नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले रिबन काटेर स्टुडियोको औपचारिक शुभारम्भ गर्नुभयो।

Advertisement

​सन्थाल समुदायका युवाहरूद्वारा सञ्चालित यस मिडियाले आफ्नै मातृभाषा र संस्कृतिको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्य राखेको छ। सीमित स्रोत-साधनका बीच सञ्चार सामग्री उत्पादनलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आधुनिक स्टुडियो निर्माण गरिएको संस्थाले जनाएको छ।

Advertisement

​कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले सम्बोधन गर्दै देशमै पहिलो पटक सन्थाल जातिको हकहित, अधिकार र सिर्जनालाई अगाडि बढाउन मिडिया हाउसको स्थापना हुनु प्रशंसनीय रहेको बताउनुभयो। पिछडिएको वर्गबाट सञ्चार क्षेत्रमा चालिएको यो पाइलाले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो। साथै, पत्रकार महासंघले सन्थाल युवाहरूको क्षमता विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

​मिडियाका अध्यक्ष शिव मुर्मुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्रामीण प्रेस क्लब झापाका अध्यक्ष नेत्रविक्रम बिमली, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे तथा अतिथिहरू ताला सोरेन, सविता मर्डी, र अविनाश महोली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले स्थानीयस्तरमा आधुनिक सञ्चार पूर्वाधार निर्माण हुनु सकारात्मक रहेको बताउँदै सञ्चारमाध्यमले स्थानीय समुदायका समस्या, गतिविधि र आवाजलाई तथ्यमा आधारित भई निष्पक्ष ढङ्गले प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

​कार्यक्रममा बुद्धलाल किसकुले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिव हस्दाले संस्थाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण तलु बास्केले गर्नुभएको थियो।

​सहयोगीदाताहरूलाई सम्मानपत्र प्रदान

​स्टुडियो निर्माणका लागि विभिन्न व्यक्ति, समूह तथा संस्थाबाट प्राप्त आर्थिक सहयोगको कदर गर्दै सो अवसरमा प्रमुख अतिथि लगायतले सहयोगीदाताहरूलाई सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो।

​सार्वजनिक विवरणअनुसार विभिन्न सहयोगीदाताहरूबाट २ लाख २९ हजार ५ सय ३२ रुपैयाँ र सिर्जन मिडियाको टिमबाट २० हजार ४ सय ५० रुपैयाँ गरी कुल २ लाख ४९ हजार ९ सय ८२ रुपैयाँ संकलन भएको छ।

​सम्मानित हुने मुख्य सहयोगीहरूमा आशिका मुर्मू (रु. ३३,०००), सेङ्गेल ग्रुप (रु. २२,४६१), चन्द्र मुर्मू (रु. १६,८६०), नेपाल सन्थाल समाज बचत समूह (रु. १६,३५०), सागुन बाह्रा बचत समूह (रु. १२,०००) र बसन्ती टुडु (रु. १०,०५१) हुनुहुन्छ। त्यसैगरी जनही १० हजार रुपैयाँ सहयोग गर्ने कविराज हास्दा, सुमी मुर्मू, सुजन सन्थाल बचत समूह र प्रेम टुडुलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

​त्यसैगरी अन्य सहयोगीहरू अञ्जना हास्दा, देवान टुडु, रोशन–सोनी मुर्मू, सावित्री सोरेन, सुनिता टुडु, विनय मुर्मू, दुर्गा मुर्मू, अविनाश मोहोली, सुरेन्द्र हेमरम, सरिता सोरेन, रञ्जु सोरेन, मिना बारिक, श्याम मुर्मू, रञ्जना हेमरम र शिवलाल हास्दालाई पनि सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

​सिर्जन मिडिया प्रा.लि.ले सम्पूर्ण सहयोगीदाताप्रति आभार व्यक्त गर्दै नयाँ स्टुडियो सञ्चालनसँगै समाचार, अन्तर्वार्ता, भिडियो कार्यक्रम तथा समुदायसँग सम्बन्धित जनसरोकारका विषयवस्तुहरू थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)