हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछिको उद्धार चरण स्थगन, पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्बको बजेट सिफारिस

झापा । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछिको प्रारम्भिक खोज तथा उद्धार कार्य सरकारले तत्कालका लागि स्थगन गरेको छ। अब सरकारको सम्पूर्ण ध्यान प्रभावित क्षेत्रको पुनर्निर्माण र नागरिकको दिगो पुनर्स्थापनामा केन्द्रित हुनेछ।

Advertisement

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१ औँ बैठकले अत्यावश्यक खोजबाहेक अन्य उद्धार कार्य रोकेर पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउने निर्णय गरेको हो।

Advertisement

​स्थानीय जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को कार्यकारी समिति र स्थलगत अनुगमन टोलीको सिफारिसका आधारमा यो निर्णय लिइएको परिषद्ले जनाएको छ।

​बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि कुल ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

​आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ।

​यसैगरी, हालसम्म लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त हुनासाथ आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ।

​बैठकमा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सफल भएको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसैगरी एकीकृत रूपमा अघि बढाइने बताए।

​प्रधानमन्त्रीको सो प्रस्तावमा विपक्षी दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता तथा बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

​परिषद् बैठकले बाढी-पहिरोलगायत मनसुनजन्य विपद्का कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

​त्यस्तै, विपद्को घडीमा उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मीका साथै सहयोग पुर्‍याउने दातृराष्ट्र र विकास साझेदारहरूलाई परिषद्ले धन्यवाद ज्ञापन गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)