झापा । सशस्त्र प्रहरी बलले झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी सीमा क्षेत्रबाट १२.७७० ग्राम अवैध सुनसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे ८ प ८८३१ नम्बरको मोटरसाइकललाई बीओपी पाठामारीबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा सुनजस्तो देखिने पहेँलो धातुको ढिक्का बरामद गरेको हो ।

पक्राउ पर्नेमा भारतको किशनगञ्ज निवासी मोटरसाइकल चालक ओमबाबु कर्मकार र पछाडि सवार मनोज कर्मकार रहेका छन् ।

बरामद गरिएको सुनको बजार मूल्य ३ लाख १९ हजार ६८७ रुपैयाँ र मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ गरी कुल ४ लाख १९ हजार ६८७ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाका सूचना अधिकारी (स.प्र.ना.उ.) सुजित बिष्टले जानकारी दिए ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद धातु र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।