काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा प्रवासमा रहेका कांग्रेसजनको मुद्दालाई केन्द्रीय तहमा स्थापित गर्ने उद्देश्यका साथ विनोदबहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरूबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने वैधानिक व्यवस्थाअनुसार उनले एसिया क्षेत्रबाट उम्मेदवारी दिएका हुन्।

नेपाली जनसम्पर्क समिति मलेसियाका संरक्षक तथा महासमिति सदस्य रहेका थापा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्षसमेत हुन्। लामो समयदेखि राजनीतिकसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनले प्रवासी नेपाली समुदायका समस्या, सामाजिक एकता र संस्थागत सहकार्यका पक्षमा निरन्तर काम गर्दै आएका छन्।

आफ्नो लामो राजनीतिक तथा सामाजिक अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वसँग जोड्न उम्मेदवारी दिएको उनले बताएका छन्। “मेरो उम्मेदवारी कुनै व्यक्ति वा समूहको विपक्षमा नभई कांग्रेसको संगठनात्मक र वैचारिक रूपान्तरणका लागि हो,” थापाले भने।
उनले अभियानका क्रममा संगठनलाई चलायमान बनाउने, स्वच्छ तथा क्षमतावान् नेतृत्वलाई प्राथमिकता दिने, वैचारिक संवादलाई सुदृढ बनाउने र राजनीतिमा सदाचार एवम् सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले कांग्रेसलाई समयसापेक्ष बनाउन ‘रूपान्तरणका चार च’ अर्थात् चाल, चेहरा, चिन्तन र चरित्र को अवधारणालाई मुख्य एजेन्डाका रूपमा अगाडि सारेका छन्।
