हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दिबारीमा ध्रुवतारा विद्युत सहकारीको आठौँ साधारण सभा : प्रमुख प्रशासकीय अधिकृतसहित ४ ग्राहक सम्मानित

हल्दीबारी (झापा) । हल्दीबारीस्थित ध्रुवतारा बहुउद्देश्य विद्युत सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा बिहीबार भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

​संस्थाका अध्यक्ष भानुभक्त प्रसाईंको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य माननीय छविलाल चुडालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।

Advertisement

​साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य छविलाल चुडाल, हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), हल्दीबारी वडा नम्बर ४ का वडाध्यक्ष सन्तकुमार थापा, वडा नम्बर ५ का वडाध्यक्ष खड्ग लावती, विद्युत उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य चेतराज भट्टराई तथा जिल्ला अध्यक्ष चन्द्र तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

​प्रमुख प्रशासकीय अधिकृत वनलाई बिदाइ सम्मान

​सोही समारोहका बिच हल्दीबारी गाउँपालिकामा ३८ महिनासम्म रहेर प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलाई ‘फेरि भेटौँला’ कार्यक्रमअन्तर्गत विशेष सम्मानसहित बिदाइ गरिएको छ।

​त्यसैगरी, नियमित रूपमा विद्युत महसुल बुझाएर संस्थालाई सहयोग पुर्‍याउने चार जना उपभोक्तालाई पनि नगदसहित सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा सिरुवाल राइस मिल, पुणी मेचे, तुलसा कँडेल र विष्णुप्रसाद पराजुली रहेका छन्।

​सिँचाइमा ७५ प्रतिशत अनुदान र सडक बत्ती सम्झौता

​कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले वडा नम्बर ५ भित्रका उपभोक्ताहरूलाई ‘सिंगल फेज’ सिँचाइमा ७५ प्रतिशत अनुदान दिने गरी वडा कार्यालयसँग सहमति भएको साधारण सभामा जानकारी दिइयो। यस्तै, सडक बत्तीको महसुल व्यवस्थापनका लागि वडा नं. ५ को कार्यालयसँग ७०/३० को साझेदारी कार्यक्रमअन्तर्गत सम्झौता गरी काम भइरहेको जनाइएको छ।

​भवन निर्माणका लागि जग्गा र १० लाख बजेट

​संस्थाको आफ्नै भवन निर्माणका लागि स्थानीय युवा व्यवसायी तथा समाजसेवी रुद्र उप्रेतीले आफ्ना स्वर्गीय पिताको स्मृतिमा १५ धुर जग्गा नि:शुल्क उपलब्ध गराएका छन्। साथै, प्रदेश सांसद छवि चुडालको पहलमा कोशी प्रदेश सरकारबाट भवन निर्माणका लागि रु. १० लाख बजेट विनियोजन भएको जानकारी गराइयो।

​वि.सं. २०६० सालमा स्थापना भई ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्दै आएको यस संस्थामा हाल हल्दीबारीका वडा नम्बर २, ३, ४ र ५ का गरी कुल १ हजार ७ सय ८० जना उपभोक्ता आबद्ध छन्। ८०/२० को कार्यक्रमअनुसार हालसम्म १२ वटा ट्रान्सफर्मरमार्फत विद्युत सेवा दिइरहेको संस्थामा चार जना कर्मचारी कार्यरत छन्।

​कार्यक्रममा कोषाध्यक्ष नविन मैनालीले आर्थिक प्रतिवेदन र अध्यक्ष प्रसाईंले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत दुवै प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको संस्थाका सचिव ओमराज राईले जानकारी दिए।

​उपाध्यक्ष धनकुमारी गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन भने सचिव ओमराज राई ले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)