समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

गौरीगञ्जका ६० सन्थाल विद्यार्थीलाई ‘सन्थाली वर्णमाला’ पुस्तक वितरण

कुञ्जीबारी । झापाको गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीस्थित श्री बाल कल्याण माध्यमिक विद्यालयका ६० जना सन्थाल विद्यार्थीलाई निःशुल्क ‘सन्थाली वर्णमाला’ पुस्तक वितरण गरिएको छ।

​सन्थाली ओल चिकी लिपिको अध्ययनलाई सहज बनाउने उद्देश्यले सन्थाली वर्णमाला व्यवस्थापन टिमका सदस्य विजय मुर्मुको सहयोगमा उक्त पुस्तक वितरण गरिएको हो।

​करिब दुई महिनाअघिदेखि सहजकर्ता श्याम हेमरमको नेतृत्वमा हरेक हप्ता दुई स्थानमा सन्थाली ओल चिकी लिपि सिकाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ। पुस्तकको अभावमा अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई पुस्तक पाएपछि लिपि सिक्न थप सहज हुने अपेक्षा गरिएको छ।

​पुस्तिका सिर्जन मिडिया प्रा.लि.का अध्यक्ष शिबु मुर्मु र बुधलाल किस्कुले ‘सिर्जन मिडिया बुक स्टोर’मार्फत निःशुल्क उपलब्ध गराएका हुन्।

​कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य जेठा मुर्मु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर लिम्बु, स्थानीय समाजसेवी धर्मप्रसाद दाहाल, गंगाराम मुर्मुलगायतको उपस्थिति रहेको थियो।

​स्थानीयका अनुसार सन्थाली भाषा, लिपि र संस्कृतिको संरक्षणका लागि समुदाय आफैँ सक्रिय भएर लागिपरेको छ। मातृभाषा र ओल चिकी लिपि सिक्ने तथा नयाँ पुस्तामा यसको ज्ञान हस्तान्तरण गर्ने प्रयास भइरहे पनि यसमा स्थानीय सरकारको पर्याप्त चासो र सहयोग पुग्न नसकेको उनीहरूको गुनासो छ।

​भाषा संरक्षणको यस अभियानलाई दीर्घकालीन र प्रभावकारी बनाउन स्थानीय सरकारले सन्थाली मातृभाषा तथा ओल चिकी लिपिको शिक्षण, संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिँदै संस्थागत सहयोग तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)