हल्दिबारी (झापा) — झापाको हल्दिबारी–१ साविक गोलधापमा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सोमबार सम्पन्न रोमाञ्चक मैत्रीपूर्ण भिडन्तमा ग्रामीण प्रेस क्लब झापा विजयी भएको छ। स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीको टोलीलाई ७–५ को गोल अन्तरले हराउँदै प्रेस क्लबले रोमाञ्चक जित हात पारेको हो।
बडादसैँका अवसरमा आयोजक गोलधाप युथ टिमद्वारा आयोजित खेलमा दुवै टोलीले आक्रामक र प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए। गोलको वर्षा भएको उक्त खेलमा दुवै पक्षबाट उत्कृष्ट मुभहरू बनेका थिए भने खेल अवधिभर दर्शकले भरपूर मनोरञ्जन लिएका थिए।
हार–जितभन्दा पनि आपसी भाइचारा र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त खेलबारे आयोजकले समाजको ऐनाका रूपमा रहेका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। नागरिकसमक्ष सूचना प्रवाह गर्ने र गाउँठाउँको विकासमा खट्ने दुवै पक्षबीचको आत्मीयता, सद्भाव र सहकार्यलाई खेलकुदका माध्यमबाट थप मजबुत बनाउन सकिने सहभागीहरूको भनाइ थियो।
खेल समाप्तिपछि आयोजक गोलधाप युथ टिमका पदाधिकारीहरूले सहभागी दुवै टोलीका खेलाडीहरूलाई सहभागिताको कदरस्वरूप प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। स्थानीय तहमा दसैँको रौनकबीच आयोजित यस मैत्रीपूर्ण खेलले खेलकुदको प्रवर्द्धनसँगै सरोकारवालाहरूबीच आपसी सम्बन्ध र भाइचारा थप मजबुत बनाएको छ।
