समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

कार्तिक ४ मा मदरगाछ बजारमा दसैँ मेला : सन्थाल नृत्य र रावण दहन मुख्य आकर्षण

वरतलाल राजवंशी । कुमरखोद, कार्तिक ३

​विजयादशमीको अवसरमा झापा गाउँपालिका–७ स्थित मदरगाछ बजारमा आगामी कार्तिक ४ गते (टीकाका दिन) भव्य दसैँ मेला आयोजना हुने भएको छ।

​मेला समितिका अध्यक्ष पृथ्वी देवानका अनुसार स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा सन्थाल नृत्य प्रतियोगिता, विविध सांस्कृतिक झाँकी तथा रावण दहन मुख्य आकर्षणका रूपमा रहनेछन्।

​प्रतियोगितात्मक रूपमा सञ्चालन गरिने सन्थाल नृत्यमा प्रथम हुने टोलीलाई रु ४१ हजार १००, दोस्रो हुनेलाई रु २५ हजार १०० र तेस्रो हुनेलाई रु १५ हजार १०० नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी अन्य सबै टोलीलाई पनि प्रोत्साहनस्वरूप सान्त्वना पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष देवानले जानकारी दिए।

​त्यस्तै असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मेलाकै अवसरमा विशाल रावणको पुतला निर्माण गरी दहन गरिने कार्यक्रम रहेको मेला समितिका सचिव भुपेन्द्र थापाले बताए।

​वर्षौँदेखि चल्दै आएको परम्परागत मेलाले स्थानीय सांस्कृतिक पहिचान जोगाउनुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा आयोजकको छ। मेला समितिले झापा र आसपासका सम्पूर्ण सर्वसाधारणलाई उपस्थितिका लागि हार्दिक आह्वान गरेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)