झापा । विजयादशमी तथा आगामी चाडपर्वका अवसरमा सामाजिक सद्भाव बिथोल्ने गतिविधि रोक्न झापा प्रशासनले कडा कदम चालेको छ। धार्मिक सहिष्णुता, भाइचारा र सामाजिक सहअस्तित्वमा आँच पुर्याउने कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय झापाले सुरक्षा निकायलाई डीजे (DJ) नियन्त्रण गरी सञ्चालक तथा धनीमाथि मुद्दा चलाउन कडा निर्देशन दिएको छ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको झापा जिल्लामा चाडपर्व, शोभायात्रा, मूर्ति पूजन तथा विसर्जनका नाममा हुन सक्ने असामाजिक हर्कत र घुसपेठप्रति लक्षित गर्दै प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आदेश दिएका हुन्।
प्रशासनद्वारा जारी अत्यन्त जरुरी सूचनामा अन्य धर्मावलम्बीका आस्थाका केन्द्र—मन्दिर, मस्जिद, मदरसा, चर्च, गुम्बा—अगाडि नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला गर्ने, उत्तेजक प्रदर्शन गर्ने तथा रङ वा अन्य सामग्री फ्याँक्नेजस्ता उच्छृङ्खल र उक्साहटपूर्ण गतिविधि नगर्न कडा चेतावनी दिइएको छ।
डीजे सञ्चालक र सवारी धनीलाई पनि कारबाही
चाडपर्व तथा शोभायात्राका क्रममा चर्को आवाजमा बजाइने डीजेका कारण सार्वजनिक शान्ति खलल पुग्ने भन्दै प्रशासनले डीजे प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। सूचनाको अवज्ञा गरी डीजे बजाएको पाइएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे उपलब्ध गराउने व्यवसायी, साउन्ड सिस्टम धनी र सो उपकरण ढुवानी गर्ने सवारी साधनका धनीलाई समेत प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।
यसैगरी मूर्ति विसर्जन तथा शोभायात्राका लागि तोकिएको रुट र समयको पूर्ण पालना गर्नुपर्ने, मादक पदार्थ सेवन गरी जुलुसमा सहभागी हुन नपाइने र सामाजिक सञ्जालमार्फत साम्प्रदायिक वा भ्रामक सन्देश फैलाउन नपाइने नियम कडाइका साथ लागू गरिएको छ।
जिल्लाको शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, धार्मिक अगुवा, व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिकहरूमा अपिलसमेत गरेको छ।
