बाह्रदशी, १८ चैत । झापाको बाह्रदशी गाउँपालिकामा निर्माणाधीन १५ शैयाको दुई तले सुविधा सम्पन्न आधारभूत अस्पतालको काम अन्तिम चरणमा पुगेको छ। अस्पताल निर्माणको प्रगति अनुगमन गर्न स्थानीय जनप्रतिनिधिहरू सक्रिय भएका छन्।
संघीय सरकारको “हरेक स्थानीय तहमा एउटा आधारभूत अस्पताल” कार्यक्रमअन्तर्गत सुरु गरिएको उक्त परियोजना करिब ९० प्रतिशत भौतिक प्रगति पूरा भइसकेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार, अस्पताल निर्माणका लागि श्री धुलिखेल/आशीषबिन्दु जे.भी. सँग १२ करोड २५ लाख १३ हजार ७ सय ६३ रुपैयाँ ४५ पैसामा २०७८ भदौ २९ मा सम्झौता भएको थियो। अस्पतालको लक्ष्य २०८३ बैशाख ३१ भित्र सम्पन्न गर्नु रहेको छ।
निर्माणाधीन अस्पतालमा आधुनिक सुविधा समावेश हुने जनाइएको छ। यसमा एटेच्ड ट्वाइलेट–बाथरूमसहित डाक्टर र नर्सका आवासीय कोठा, लिफ्ट सुविधा, ठूलो बैठक तथा तालिम कक्षा, अत्याधुनिक प्रयोगशाला र बिरामीका लागि पुस्ताकालयको व्यवस्था गरिने छ।
हालसम्म वित्तीय प्रगति उल्लेखनीय रहेको छ भने बाँकी काम चाँडै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनी तीव्र रूपमा काम गरिरहेको छ। गाउँपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउने तयारी पनि अघि बढाएको छ।
अस्पताल सञ्चालनमा आएपछि बाह्रदशी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त गर्नेछन्। यसले टाढा जानुपर्ने बाध्यता घटाउने मात्र नभई आपतकालीन अवस्थामा प्रभावकारी हुने समेत विश्वास लिएको छ।
















