हल्दीबारी, असार २१ । मौसममा भइरहेको लगातारको परिवर्तनसँगै चालू आर्थिक वर्ष २०८२/८३ मा झापा जिल्लाभर डेंगू संक्रमण तीव्र रूपमा फैलिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका विभिन्न पालिकाहरूसँगै हल्दीबारी गाउँपालिकामा पनि डेंगूका बिरामीहरू तीव्र रूपमा भेटिएका छन् । यस आर्थिक वर्षको हालसम्मको अवधिमा हल्दीबारीमा मात्रै २८ जनामा डेंगूको संक्रमण पुष्टि भइसकेको छ । पानी पर्दै र घाम लाग्दै गरेको वर्तमान मौसम लामखुट्टेको अण्डा पार्ने र लार्भा विकसित हुने प्रक्रियाका लागि निकै अनुकूल हुने भएकाले हल्दीबारीबासीलाई विशेष स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ को यस अवधिमा झापामा हालसम्म कुल ५१० जनामा डेंगू संक्रमण फेला परिसकेको छ भने संक्रमणकै कारण झापा गाउँपालिकाका एक १० वर्षीय बालकले ज्यान गुमाइसकेका छन् । जिल्लाका १५ पालिकामध्ये दमकमा दुई सय १६ र बिर्तामोडमा ८९ जना संक्रमित फेला पर्दै उच्च जोखिममा रहेका छन् भने हल्दीबारी २८ संक्रमितसहित सतर्कता अपनाउनुपर्ने पालिकाको सूचीमा रहेको छ । केही स्थानीय तहका स्वास्थ्य कार्यालयबाट तथ्याङ्क अपडेट हुन बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
डेंगू फैलाउने ‘एडिस’ जातको लामखुट्टे मुख्यगरी रातमा नभई दिउँसोको समयमा सक्रिय हुने गर्दछ । अरू लामखुट्टे जस्तो यसको आवाज नसुनिने र थाहै नपाई खुट्टा तथा पाखुरा जस्ता कपडाले नजोगिएका खुला भागमा टोक्ने भएकाले यसबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन् । गर्मी मौसम भएता पनि शरीर पूरै ढाकिने गरी हल्का वा पातलो कपडा लगाउन र घर, विद्यालय वा कार्यथलो वरिपरि पानी जम्न नदिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

अहिलेको समयमा संक्रमण फैलाउने लामखुट्टेको लार्भा वा प्युपा समयमा नै खोजेर नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । यसका लागि स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने र विद्यालयहरूमा कार्यरत ‘विद्यालय नर्स’ मार्फत बालबालिकाहरूमा डेंगू विरुद्धको सचेतना फैलाउनु आवश्यक देखिएको छ । आफ्नो घरबाहिरका पुराना टायर, बोतल, प्लास्टिकका भाँडा, फूलदानी तथा खाल्डाखुल्डीमा पानी जम्न नदिनु नै यसको मुख्य नियन्त्रण विधि हो ।
संक्रमित लामखुट्टेले टोकेपछि उच्च ज्वरो आउने, कडा टाउको दुख्ने, वान्ता हुने, चक्कर लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, आँखाको भित्री भाग दुख्ने र शरीर गल्ने जस्ता लक्षणहरू देखा पर्दछन् । यस्ता सामान्य लक्षण देखिँदा पर्याप्त आराम गर्ने, झोलिलो खानेकुरा खाने र पारासिटामोल मात्र सेवन गर्नाले स्वास्थ्यमा सुधार आउन सक्छ । तर, अत्यधिक पेट दुख्ने, शरीरको कुनै पनि भागबाट रक्तस्राव हुने वा बेहोस हुने जस्ता गम्भीर लक्षण देखिएमा ढिला नगरी तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान चिकित्सकहरूले सुझाव दिएका छन् ।







