कविता :“ कारुणिक भावना”
लिखीत सारा शब्दहरू हराउन लाग्दा
अर्थहरू पनि अति नै दुखी भै रुन लागे,
जब निलो आकाश माथी चुम्न लागे सबै
तिनलाई शिखर पनि होचो देखिन लागे,
घाउ त थिएन कहिल्यै वरीपरी जेहनमा
ममताको क्षारीय आँशुले सारा धुन लागे,
एउटा कारुणिक भावना थियो हृदयमा
तस्वीरहरू स्वयं हृदयमा स्पर्श हुन लागे,
कहिले सम्म भ्रमको यो सपना हेरी रहुँ
व्यर्थमा रंगिन सपनाहरु सजाउन लागे,
कुन बेला रचित कथाले मोड लिने हो!
शुष्क ओठहरु उसका निशब्द हुन लागे,
अति नै श्रृंगार गरेको देख्दा कन्यावती
ऐना पनि नजर झुकाई लजाउन लागे,
थिरकन ती पाउ का द्वय नुपूर हरूको
झंकार तरंगित तन मनभरी नै हुन लागे,
कतिका सप्तरंगी प्रेमिल पछ्यौराहरु
पूर्विय उष्ण बतासमा फरफराउन लागे,
व्यथामा प्रस्फुटित कारुण्यताको परत
मलहम तन भरि शनै शनै लगाउन लागे,
लिखित सारा शब्दहरू हराउन लाग्दा
अर्थहरु पनि अति नै दुखी भै रुन लागे,
जब निलो आकाश माथी चुम्न लागे सबै
तिनलाई शिखर पनि होचो देखिन लागे।
✍दयान्नद गाेश्वामी
















