झापाको भद्रपुरमा दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । बुधवार राति अन्दाजी १० बजेको समयमा भद्रपुर नगरपालिका-५ स्थित मेची किनारमा १४ वर्षीया र १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भद्रपुर- ५ का २१ वर्षीय शिवा सहनी र सोही ठाउँका १८ वर्षीय अभिषेक महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विद्यालयको खुला चौरमा साथीहरूसँग बसेर गफगाफ गरिरहेको अवस्थामा ती दुई बालिकालाई सहनी र महतोले घर छाडिदिन्छु भन्दै त्यहाँबाट लगेका थिए । त्यसपछि उनीहरूले बालिकाहरूलाई डरत्रास देखाएर सोही ठाउँको एक खाली घरमा लगे । त्यसपछि सहनीले १४ वर्षीय बालिकालाई निलो त्रिपालमा लडाई जबरजस्ती करणी गरेको र महतोले १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाहरूले घर पुगेर आआफ्नो अभिभावकलाई घटनाको विस्तृत विवरण सुनाएपछि बिहीबार बिहान वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएका थिए । लगतै प्रहरी टोलीले सहनी र महतोलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला पठाएको थियो । यता प्रहरीले बालिकाहरूको मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराइसकेको छ । पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि जबरजस्ती करणी सम्बन्धी मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ ।







