झापा । झापाको भद्रपुरमा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङ २०८२ साल चैत महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वडा प्रहरी कार्यालय भद्रपुरमा कार्यरत तामाङलाई व्यावसायिक कार्यसम्पादन र शान्ति सुरक्षामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरेको हो ।
प्रहरी निरीक्षक तामाङले भद्रपुर क्षेत्रमा लागू औषध नियन्त्रणका लागि ‘अपरेसन ब्राउन’ अभियान सञ्चालन गरी उल्लेख्य सफलता हासिल गरेका छन् । उनको नेतृत्वमा चैत महिनामा मात्रै लागू औषध कारोबारमा संलग्न ३२ जनालाई पक्राउ गरिएको थियो । उनीहरूको साथबाट करिब ३४७ ग्राम ब्राउन सुगर र ३ लाख रुपैयाँ नगद बरामद भएको थियो । यसबाहेक भन्सार छलीका १० लाखभन्दा बढी मूल्यका अवैध सामान र ९ जना फरार प्रतिवादीलाई समेत उनकै कमान्डमा पक्राउ गरिएको थियो ।
सुरक्षा व्यवस्था र अपराधी पक्राउमा मात्र नभई तामाङले भद्रपुरमा क्षतिग्रस्त प्रहरी संरचनाको पुनर्निर्माणमा पनि विशेष भूमिका खेलेका छन् । ‘जेन–जी’ (Gen-Z) आन्दोलनका क्रममा क्षति पुगेको वडा प्रहरी कार्यालय र ब्यारेकको मर्मत, मेची बिटको पुनः स्थापना र आवश्यक सामग्री जुटाउन उनले स्थानीय समुदाय र संघ–संस्थासँग प्रभावकारी समन्वय गरेका थिए ।
प्रहरी चौकी मेचीपारिको नयाँ जग्गा प्राप्ति र वडा कार्यालयको नयाँ भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा समेत उनले गरेको पहललाई प्रदेश प्रहरीले प्रशंसा गरेको छ । सामुदायिक प्रहरी साझेदारीमार्फत नागरिकसँगको सम्बन्ध सुधार्न र व्यावसायिक निष्ठाका साथ जिम्मेवारी पूरा गरेकाले उनलाई यो महिनाको सर्वोत्कृष्ट प्रहरी छनोट गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


















