झापा, अर्जुनधारा — अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को चौथो खेलमा भारत पटनास्थित हाई पर्फमेन्स (एचपी) क्रिकेट एकेडेमीले विराटनगरको लायन्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। टोलीका लागि सुभाष माब्दालले २१ बलमा ६० रनको आक्रामक पारी खेले। यस्तै युवराज सिंह बेगवानीले ३२ बलमा २१ रन तथा आशिष अधिकारीले ६ बलमा १९ रनको योगदान दिए।
एचपीका कृष्णले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। शशांक शेखर र साहिल कुमारले समान १–१ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याएको एचपी क्रिकेट एकेडेमीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै जित हात पार्यो। टोलीका लागि जित ज्योतीले ३१ बलमा ३३ रन बनाए भने अंशु कुमारले १५ बलमा ३२ रनको महत्वपूर्ण योगदान दिए। अन्तिम ओभरका दुई बलमा लगातार छक्का प्रहार गर्दै उनले टोलीलाई जित दिलाए। अंकित कुमारले १९ बलमा २० रन जोडे।
लायन्सका राघव कार्कीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। करिथाथा बस्नेत र विभान चापागाईंले समान १–१ विकेट लिए।
यसअघि समूह ‘बी’ अन्तर्गतकै तेस्रो खेलमा फुलबारी स्पोर्ट्स एकेडेमीले इनरुवा क्रिकेट एकेडेमीलाई १ विकेटले पराजित गरेको थियो। समूह चरणमा दैनिक दुई खेल भइरहेको छ।
अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र भारतका १० यू–१३ टोली सहभागी छन्।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।


















