भद्रपुर, १२ जेठ — झापाको हल्दीबारी गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा सोमबार राति आएको भीषण हावाहुरी, वर्षा र चट्याङका कारण लाखौँ मूल्य बराबरको भौतिक क्षति भएको छ। तीव्र गतिको हावाहुरीले हल्दीबारीमा मात्रै विभिन्न व्यक्तिका घरका छाना उडाएर ठुलो नोक्सानी पुर्याएको छ भने जिल्लाभर अन्य उद्योग, कृषि फार्म र विद्युत् सेवामा समेत अवरोध पुगेको छ।
राति करिब पौने ११ बजे अचानक आएको हावाहुरीले हल्दीबारी गाउँपालिका वडा नं. २ मा मात्रै तीनवटा घरको छानो उडाउँदा ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ। हल्दीबारीको बैधार बस्ती बस्ने ५७ वर्षीय चरण बास्केको फुसको छानो र बाँसको टाँटीले घेरिएको घरको छानो पूर्ण रूपमा उड्दा करिब २० हजार रुपैयाँको क्षति भएको छ भने सोही स्थानकी ५३ वर्षीया फुलकुमारी केरुङ्गको डेढ तले पक्की घरको माथिल्लो टिनको छानो हावाहुरीले पूर्ण रूपमा उडाउँदा ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। यस्तै, जीवनबारी बस्ने ६३ वर्षीय सुद्ला राजवंशीको घरको टिनको छाना उड्दा २० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। हल्दीबारी गाउँपालिका वडा नं. ५ धनुष टोल बस्ने ५३ वर्षीया पूर्णमाया पनेरु चापागाईंको घरको टिनको छानो समेत हावाहुरीले उडाउँदा थप २० हजार रुपैयाँ बराबरको क्षति भएको छ। हल्दीबारी क्षेत्रमा भौतिक क्षति भए तापनि मानवीय र चौपाया क्षति भने हुन पाएको छैन।
हावाहुरी र वर्षाले गौरादह नगरपालिकामा पनि ठुलो नोक्सानी पुर्याएको छ। गौरादह–७ डाँडागाउँका ४२ वर्षीय पर्शुराम दाहालको टिनको छानो र तारको जालीले घेरिएको पक्की कुखुरा फार्म पूर्ण रूपमा भत्किँदा भित्र रहेका २५ वटा ब्रोइलर कुखुरा मरेका छन् र कुल २ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, गौरादह–६ सगरमाथा टोलका श्यामलाल बैसराको ३ कोठे घरको छानो उड्दा ७० हजार र सोही वडाको निर्मला चोकका हुकुम सिंह राईको २ कोठे घरमा क्षति पुग्दा ६० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। गौरादह–६ कै आरतीनगरका मानबहादुर पराजुलीको भान्सा घरको छानो उड्दा भित्र राखिएको २० मन धान र २० मन मकै पानीले भिजेर नष्ट हुँदा ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
गौरादहमा हावाहुरीसँगै परेको चट्याङले समेत क्षति पुर्याएको छ। राति करिब साढे १२ बजे गौरादह–८ बैराति टोलका इन्द्रमणी प्रसाईको दुईवटा घरमा चट्याङ पर्दा आगलागी भएको छ। आगलागीबाट घरभित्र रहेका ७ वटा सिलिङ पंखा, १२ वटा चिम, फ्रिज, ६३ इन्चको टेलिभिजन, सोलार सेट, विद्युत् मिटर र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट हुँदा कुल १ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।
यसैगरी झापाका अन्य क्षेत्रमा पनि उद्योग र यातायात क्षेत्रमा असर परेको छ। मेचीनगर–१५ गाईनाबारीस्थित किशोर क्षेत्रीले सञ्चालन गरेको जय माँ कामक्ष इण्डष्ट्रिज प्रालि प्लाई उद्योगको गोदाम र मेशको जस्तापाता उडाउँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने मेचीनगर–८ स्थित सूर्योदय कम्पनीको पार्किङ स्थलको छानो उडेर त्यहाँ पार्क गरिएका दुईवटा बसको अगाडिको सिसा फुट्न गई क्षति पुगेको छ। दमक–१० मा गुणराज थापाले सञ्चालन गरेको गरिमा इट्टा भट्टाको भवनको छानो हावाहुरीले उप्काएर पल्टाउँदा ठुलो भौतिक क्षति भएको छ भने बाह्रदशी गाउँपालिका–५ मागुगाउँका पृथ्विलाल राजवंशीको १ तले घरको टिनको छानो पूर्ण रूपमा उड्दा १ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
बिर्तामोडका विभिन्न स्थानमा रुख र बिजुलीका पोल ढल्दा सडक र विद्युत् सेवा अवरुद्ध भएको थियो। बिर्तामोड–३ को विराट आदर्श टोल, त्रिवेणी चोक, स्यालडाँगी र स्टाफ चोक गरी बिर्तामोड क्षेत्रमा मात्रै कुल ८ वटा विद्युत् पोल ढलेका छन्। बिर्तामोड–३ खुकुरी चोकका रोहित खड्काको घरमा पिपलको रुख ढल्दा घरमा आंशिक क्षति पुगेको छ भने वडा नं. ४ भद्रपुर रोडमा ढलेको चिनियाँ潜 प्लान्टको रुखलाई स्थानीयले काटेर बाटो सुचारु गराएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति आएको हावाहुरीका कारण जिल्लाभर व्यापक भौतिक क्षति भए तापनि कतैबाट पनि मानवीय वा चौपाया क्षतिको विवरण प्राप्त भएको छैन र प्रभावित क्षेत्रहरूमा राहत तथा थप विवरण संकलनको कार्य भइरहेको छ।

















