दमक, झापाको दमकमा अवैध लागू औषध ब्राउन सुगर कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक नगरपालिका–५ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा दमक–५ स्थित बिलिभर चर्च नजिकै बस्ने २३ वर्षीय तुलसी माझी र सोही ठाउँका ३० वर्षीय राज माझी रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले आइतबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मारेको थियो ।
खानतलासीका क्रममा उनको कोठाबाट प्लास्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर, नेपाली रुपैयाँ ५६ हजार ६ सय, भारु १ हजार १ सय र दुई थान मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उक्त लागू औषध बिक्री वितरणका लागि राखिएको खुलेपछि सोही कारोबारमा संलग्न राज माझीलाई पनि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनामाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

















