झापा, पुस २५ । झापाको दमक नगरपालिका–९ मा मंगलबार बिहान करेन्ट सर्टका कारण भएको आगलागीमा एक फ्याक्ट्री र तीनतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
स्थानीय पदम भण्डारीले सञ्चालन गर्दै आएको टिनको छानो तथा पक्की पर्खाल भएको स्वस्तिक थुप्पा फ्याक्ट्रीमा बिहान करिब ९ः४५ बजे करेन्ट सर्ट भई आगलागी भएको हो। आगो फैलिएपछि फ्याक्ट्रीसँगै जोडिएको भण्डारीकै तीनतले पक्की घरसमेत जलेको छ। घरभित्र रहेका सम्पूर्ण सरसामान आगोले नष्ट गरेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि दमक, उर्लाबारी, गौरादह, पथरी शनिश्चरे, शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिकाका दमकल परिचालन गरिएको थियो। स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीको सहयोगमा करिब सवा घण्टापछि बिहान ११ः२५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट फ्याक्ट्री र घरसहित करिब १ करोड ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार