झापा, हल्दिबारी। युवाहरूबीच खेलकुदमार्फत एकता, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको “हल्दिबारी–३ युनिटी फुटबल कप” टोल स्तरीय लिग प्रतियोगिता हिजो भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। वैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिता समापनसँगै स्थानीय स्तरमा खेलकुद गतिविधिले नयाँ ऊर्जा पाएको अनुभूति गरिएको छ। अन्तिम दिनका खेलहरू स्थानीय युवा व्यवसायी कृष्ण प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले प्रतियोगितालाई थप गरिमामय बनाएको थियो।
अन्तिम दिनको पहिलो खेलमा जलथल–१ र जलथल–२ बीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेका जलथल–१ का खेलाडी रबि गिरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि जलथल–२ का बिक्रम पुरीले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि सबिन लिम्बूको निर्णायक गोलसँगै जलथल–१ ले २–१ को जित हात पार्यो। उक्त खेलमा रवि गिरी ‘म्यान अफ द म्याच’ घोषित भए।
फाइनल खेलमा जलथल–४ र जलथल–३ बीच भएको भिडन्त प्रतियोगिताकै सबैभन्दा आकर्षक र रोमाञ्चक खेलका रूपमा रह्यो। जलथल–४ का किरण मेचेले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने सचिन खड्काले थप एक गोल गरेका थिए। जलथल–३ का अनुभवी खेलाडी अमृत मेचेले एक गोल फर्काए पनि टोलीलाई पुनः खेलमा फर्काउन सकेनन्। अन्ततः ३–१ को नतिजासहित जलथल–४ विजेता घोषित भयो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिक्षान्त कुँवर ‘म्यान अफ द म्याच’ घोषित भए।
विजेता टोली जलथल–४ ले नगद रु १३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता जलथल–३ ले नगद रु ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो।
त्यसैगरी, प्रतियोगितामा व्यक्तिगत उत्कृष्टताका आधारमा विभिन्न खेलाडीहरू सम्मानित भएका छन्। उत्कृष्ट खेलाडी अमृत मेचे, उत्कृष्ट फरवार्ड आशिष मेचे, उत्कृष्ट गोलरक्षक दिपक लिङ्देन, उत्कृष्ट डिफेन्डर हेमन्त पराजुली, उत्कृष्ट मिडफिल्डर हिमाल लिम्बू तथा सर्वाधिक गोलकर्ता किरण मेचे घोषित भए।
ढडुवा युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेको अध्यक्षता रहेको थियो भने प्रतियोगिताको सञ्चालन तथा सहजीकरण सचिव अभिषेक खतिवडाले कुशलतापूर्वक गरेका थिए।
स्थानीय स्तरमै यस्ता प्रतियोगिताले युवाहरूमा खेलप्रति आकर्षण बढाउनुका साथै सामाजिक सद्भाव, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

















