झापा । झापाको कनकाई नगरपालिका–७, दुर्गापुरमा पुरुषोत्तम मासको अवसर पारेर आयोजित विशेष आध्यात्मिक प्रवचन तथा भजन साँझ कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय पाथीभरा कीर्तन मण्डली समाजको आयोजनामा सो धार्मिक अनुष्ठान सम्पन्न भएको हो।
पाथीभरा कीर्तन मण्डली समाजका उपाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रख्यात कथा–वाचक तथा प्रवचनकर्ता निरज सापकोटाले विशेष आध्यात्मिक प्रवचन प्रस्तुत गर्नुभएको थियो। आफ्नो प्रवचनका क्रममा उहाँले पुरुषोत्तम मासको शास्त्रीय एवं धार्मिक महत्त्व, मानव जीवनमा सत्कर्मको आवश्यकता र सनातन संस्कृतिको संरक्षणका विषयमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा कीर्तनका गुरु रोहिणी प्रसाद गौतम, हनुमान मन्दिरका गुरु जयराम गौतम, सूर्य ज्योति कीर्तन मण्डलीका अध्यक्ष लीला गौतम र प्रतिनिधि डिल्लीराम चापागाईंको उपस्थिति रहेको थियो। त्यसैगरी हलेसी कीर्तनका प्रतिनिधि विश्वपुरुष बास्कोटा, ऋद्धि–सिद्धि कीर्तन मण्डली कनकाई–१ का अध्यक्ष खगेन्द्र निरौला तथा अन्य छिमेकी कीर्तन समूहका प्रतिनिधिहरूको समेत कार्यक्रममा उल्लेखनीय सहभागिता थियो।
पाथीभरा कीर्तन मण्डली समाजकी सल्लाहकार समिति संयोजक कमला पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सञ्चालन रिजन तिम्सिनाले गर्नुभएको थियो। भजन, कीर्तन र आध्यात्मिक प्रवचनका कारण पूर्ण रूपमा भक्तिमय बनेको उक्त कार्यक्रमबाट सहभागी भक्तजनहरूले धार्मिक चेतना र मानसिक शान्ति मिलेको अनुभूति व्यक्त गरेका थिए। आयोजक संस्थाले समाजमा सांस्कृतिक जागरण ल्याउन आगामी दिनमा समेत यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

















