हल्दीबारी (झापा) । झापाको हल्दीबारी गाउँपालिका वडा नं. ४ ले स्थानीय विपन्न, लोपोन्मुख, जनजाति, आदिवासी तथा दलित समुदायका ११५ परिवारलाई विद्युतीय इन्फ्रारेड चुलो वितरण गरेको छ। वडाको चालू आर्थिक वर्षको समावेशी बजेट र उपभोक्ताको साझेदारीमा ती सामग्री खरिद गरी वितरण गरिएको हो।
वडा कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच लक्षित वर्गका परिवारलाई चुलो हस्तान्तरण गरिएको हो। वडा कार्यालयका अनुसार कुल लागतको ६० प्रतिशत वडाको सिलिङ बजेटबाट अनुदानमार्फत र बाँकी ४० प्रतिशत रकम उपभोक्ता स्वयंले साझेदारी गरेर चुलो खरिद गरिएको हो।
वडा अध्यक्ष शन्त कुमार थापाले वडाभित्रका वास्तविक विपन्न र पछाडि परेका समुदायलाई आधुनिक र वातावरणमैत्री भान्छाको पहुँचमा पुर्याउने उद्देश्यले यो कार्यक्रम ल्याइएको जानकारी दिए। “हामीले पारदर्शी रूपमा कार्यविधि बनाएर ६० प्रतिशत वडाको बजेट र ४० प्रतिशत उपभोक्ताको लागत साझेदारीमा इन्फ्रारेड चुलो वितरण गरेका हौँ,” थापले भने।
वडाध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न उक्त वितरण कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन (प्रचालीङ्) को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले पालिकालाई धुवाँमुक्त बनाउने र रैथाने इन्धनको परनिर्भरता कम गर्ने नीति अनुरूप वडाले सराहनीय काम गरेको बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वडा सदस्य सुनिल बारकोटीले स्वागत गरेको कार्यक्रमको सहजीकरण वडा सचिव टिकाराम ढकालको रहेको थियोे ।
इन्फ्रारेड चुलो पाएपछि जुनसुकै भाँडा पनि प्रयोग गर्न मिल्ने र एलपी ग्यास तथा दाउराको विकल्प भेटिएको भन्दै स्थानीय उपभोक्ताहरूले खुसी व्यक्त गरेका छन्।

















