हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिर्सिएको अग्लो इतिहास :खेम प्रसाईं

अति देवत्वकरण र राक्षसीकरण हाम्रो समाजलाई लागेको रोग हो ।आफूलाई मन परेको मान्छेलाई तारिफ गरेर शिखरमा पुर्याउने अनि मन नपरेकोलाई वस्त्र उतार्ने गरि खुइल्याउने प्रवृत्तिले समाज आक्रान्त छ ।समभावमा आधारित आलोचनात्मक चेत मर्दै गइरहेको छ । यही प्रवृत्तिको मारमा छ हाम्रो इतिहास पनि । यो देशको एकीकरणको नायक पृथ्वीनारायण शाह नै हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । हरेक काम गर्नका लागि एउटा नेतृत्व चाहिन्छ । कुशल नेतृत्वले नै कर्मलाई सही गन्तव्यमा पुर्याउँछ । पृथ्वीनारायण शाह एक कुशल नेता थिए ।उनको कुशल नेतृत्वले नै विभाजित नेपाललाई एक गर्ने आधार विन्दु तय गर्‍यो । उनको महत्वाकांक्षी सोचले नै साम्राज्यवादी शक्तिलाई रोक्ने पर्खालको काम गर्यो र आज हामीलाई नेपाली हुने आधार दियो ।

Advertisement

पुष २७ गते उनै एकीकरणका नायकको जन्म दिवस । पछिल्लो दसकमा परिवर्तित राज्य सत्ताले उनको योगदानलाई पुरै बिर्सिएको छ । हरेक देशको राष्ट्रिय दिवस हुन्छ तर खोइ हाम्रो राष्ट्रिय दिवस रु पुरानो राज्य व्यवस्थाले पौष २७ लाई राष्ट्रिय एकता दिवस तोकेको थियो । गणतन्त्रमा राजतन्त्र गन्हायो र एकता दिवस पनि हटाइयो । के इतिहासका सबै कुरा खराब थिए रु यदि थिए भने वर्तमान किन आदर्श र सन्देशमूलक हुन सकेन रगणतन्त्रमा एकीकरणको नायकलाई खुइल्याइयो सामन्ती र क्रूर शासक भनेर । एकीकरणका क्रममा रैतीमाथिनिर्मम र क्रूर बनेर कत्लेआम गरेको आरोप लगाइयो।

Advertisement

पृथ्वीनारायणको कोट ज्ञानेन्द्रले लाए भनेर ज्ञानेन्द्रको रिसले उनलाई गाली गर्न मिल्दैन । तत्कालीन समयमा विश्वको राज्नीतिक परिवेश कस्तो थियो त्यतातिर पनि ध्यान जानु आवश्यक छ । त्यतिबेलाका जोसुकै शासक उदार थिएनन् । कुनै पनि शासकले अर्को राज्यको शासकलाई फूलमाला लाएर राज्य जिम्मा लगाउदैन। त्यहाँ युद्ध हुन्छ , मान्छे मर्छन अनि न राज्य जितिन्छ । भएको पनि त्यही हो । आखिरी हामीले कसले लेखिदिएको इतिहास पढेर आफनै पू्र्खालाई सत्तोसराप गर्दै छौँ रु तेतिखेर हाम्रो समाजमा इतिहास लेख्ने चेतना थिएन ।मल्ल राजाको पाहुना बनेर बसेका फिरिङ्गी जो धर्मप्रचारका लागि आएका थिए , तिनलाई पछि पृथ्वीनारायणले लखेटेका थिए।

अनि तिनै विदेशीले लेखेको भ्रामक कुरालाई आधार मानेर नश्लवादी नारा लगाँदै छौँ ।आफनै पू्र्खाको धज्जी उडाउँदा हामी दिग्भ्रमित हुन पुगेका छौँ ।हजुरबुबाको मुल्यांकन नातीको चस्माले होइन हजुरबुवाकै चस्माले गर्दा मात्र सही मुल्यांकन हुन्छ । तत्कालीन देशकालपरिस्थितिको विश्लेषणबाट सही कुरा निर्क्योल हुन्छ । तेतिखेरका कोही पनि शासकहरू प्रजातान्त्रिक थिएनन् ।त्यसैले आजको प्रजातान्त्रिक मुल्यको उज्यालोले हेर्दा पृथ्वीनारायण शाह पनि शासकका रूपमा क्रूर र निरङ्कुश देखिन सक्छन।यो इतिहासलाई हेर्ने खोटी नजर हो , दृष्टि भ्रम हो ।

दस वर्षे माओवादी जनयुद्धलाई महान देख्ने र दशौँ हजारको मृत्युलाई मकै पिस्दा घुन पिसिएको तर्क गर्नेले पृथ्वीनारायणलाई किन क्रूर शासकको रुपमा लिन्छनरु कसले भिराइदिएको खोटी नजरले हेर्छन् रु कुरा बुझिनसक्नु छ ।

यथार्थ कुरा के भने गोर्खाजस्तो आर्थिक दृष्टिकोणले कमजोर राज्यको राजाले त्यत्रो महत्वाकांक्षा राख्नु , सामरिक रणकौशलका साथ छोटो समयमै उल्लेख्य राज्यविस्तार गर्नु उन्नत चेतनाको उपज हो । त्यही आधारमा टेकेर नै बहादुर शाह र राजेन्द्रलक्ष्मीको नेतृत्वले सीमा बिस्तार गरेको हो । आज पनि श्रुति परम्परामा आएका पृथ्वीनारायण शाहका वाणीहरू राज्य नीति र परराष्ट नीतिका आधार बनेका छन् । यसो भन्दै गर्दा राज्य निर्माणमा कति वीर योद्धाहरू लडेका थिए, तिनको नाम खोइ भन्ने प्रश्न पनि उठ्छ । पृथ्वीनारायण एउटा मियो थिए । इतिहासले नेतृत्वको कुरा गर्छ । हिजो जनयुद्धको नेतृत्व प्रचण्डले गरेका थिए । त्यसैले जो नेता हो तेसैको कुरा हुन्छ ।

इतिहास भत्काएर भत्किने कुरा होइन , सालिक तोड्दैमा इतिहास मेटिन्न । हिजो भूगोलको एकताको कुरा थियो ।आज भावनाको एकताको खाँचो छ । आजका शासकले हिजोको अग्लो व्यक्तित्वलाई गाली गरेर होइन, इतिहासको गौरवलाई सम्मान गर्दै , हिजोका कमीकमजोरी हरूबाट पाठ सिकेर समतामूलक समृद्धि हासिल गर्नु आजको आवश्यकता हो। पू्र्खाको अपमान होइन सम्मान गरौं।अग्लो इतिहासलाई आजका भुइँमान्छे शासकले गाली गर्न सुहाउँदैन ।हिजो पू्र्खाले सिर्जना गरेको राज्यमा कोठा बाँडेर व्यवस्थापन गर्न नसक्ने आजका अकर्मण्य शासकहरूले यो कुरा आत्मसात गर्नु आवश्यक छ । कृतघ्नता र नश्लवादी उत्तेजना होइन कृतज्ञता र कर्मवादी चेतनाले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्छ ।अग्लो इतिहासको सम्मान गरौँ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)