भद्रपुर, झापा । श्रम तथा रोजगार कार्यालय झापाको आयोजना र झापा उद्योग वाणिज्य संघको समन्वयमा श्रम कानुन तथा बोनस वितरण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भद्रपुरमा आयोजित उक्त कार्यक्रममा औद्योगिक शान्ति र श्रमिक हितका लागि विद्यमान कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो।

​झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रम तथा रोजगार कार्यालय झापाका कारखाना निरीक्षक सुलभ श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा भद्रपुर नगरपालिकाभित्र सञ्चालित विभिन्न उद्योग, व्यवसाय तथा प्रतिष्ठानका प्रतिनिधि, कर्मचारी, श्रमिक, व्यावसायिक संघसंस्थाका पदाधिकारी एवं सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

​कार्यक्रमका प्रमुख अतिथि एवं कारखाना निरीक्षक सुलभ श्रेष्ठले श्रम कानुनले निर्दिष्ट गरेका श्रमिकका हक-अधिकार र रोजगारदाताहरूको कर्तव्यबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। उहाँले रोजगारदाता र श्रमिकबीच हुने दुईपक्षीय सम्झौताको महत्त्वमाथि प्रकाश पार्दै कानुनी परिधिभित्र रहेर काम गर्दा उत्पादकत्व बढ्ने र श्रम विवाद न्यूनीकरण हुने कुरामा जोड दिनुभयो।

​अन्तरक्रियाका क्रममा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ र श्रम कार्यालय झापाका अधिकृत मातृका कट्टेल लगायतले आ-आफ्नो मन्तव्य राख्दै उद्योग व्यवसायको दिगो विकासका लागि श्रम मैत्री वातावरण आवश्यक रहेको औंल्याउनुभयो। कार्यक्रमको समापन गर्दै कावा अध्यक्ष राजकुमार राईले उद्योगी र श्रमिक एकै रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै बोनस वितरण र श्रम कानुनको व्यावहारिक पालनामा संघले सधैं सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। झापा उद्योग वाणिज्य संघका महासचिव सुमन्त मैनालीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सहभागी उद्योगी तथा श्रमिकहरूले श्रम ऐन र बोनस वितरणका क्रममा भोग्नुपरेका व्यावहारिक जटिलताबारे राखेका जिज्ञासाहरूको श्रम कार्यालयका प्रतिनिधिहरूले स्पष्ट पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार