हल्दीबारी (झापा)— हल्दीबारी गाउँपालिकाका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा समुदायस्तरमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न स्वयंसेविकाहरूको भूमिकालाई कसरी सुदृढ बनाउने भन्ने विषयमा सरोकारवालाहरूबीच बृहत् छलफल भएको थियो।
कार्यक्रममा सहभागी स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी आवश्यक ज्ञान तथा सीप अभिवृद्धि गराउने उद्देश्य राखिएको थियो। सो अवसरमा विगत एक वर्षभरि समुदायस्तरमा भए/गरेका स्वास्थ्य गतिविधि तथा कार्यहरूको समीक्षा गर्नुका साथै स्वयंसेविकाहरूले आफ्ना कार्यक्षेत्रका अनुभव र चुनौतीहरू आदानप्रदान गरेका थिए।
कार्यक्रममा स्थानीय स्वास्थ्य प्रणालीलाई व्यवस्थित बनाउन महिला स्वास्थ्य स्वयंसेविका (FCHV) रजिस्टरको महत्त्वबारे विशेष जोड दिइएको थियो। आगामी दिनमा रजिस्टरमा राखिने विवरणहरूलाई सही, पूर्ण र नियमित रूपमा अद्यावधिक गर्ने विषयमा समेत सहभागीहरूलाई अभिमुखीकरण गरिएको गाउँपालिकाले जनाएको छ।
समुदायमा पहिलो सम्पर्क व्यक्तिका रूपमा रहने महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धिले स्थानीय स्तरमा मानसिक स्वास्थ्यको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।









