लागू औषध दुर्व्यसनमा परेका व्यक्तिलाई दुर्व्यसनमुक्त गरी सामान्य जीवनमा फर्काउनु सजिलो कार्य होइन। तथापि, उचित वातावरण, वैज्ञानिक योजना तथा मनोवैज्ञानिक पद्धतिबाट व्यवस्थित रूपमा उपचार गर्न सकिएमा यो असम्भव पनि छैन।
उपचार तथा पुनःस्थापना केन्द्रहरूमा हालसम्म गरिएका अभ्यासहरूको पुनरावलोकन गर्दै, तिनलाई पाठका रूपमा लिई विद्यमान कमजोरीहरू सुधार गरी वैज्ञानिक र प्रभावकारी पाठ्यसामग्री, भौतिक संरचना तथा उपयुक्त वातावरणसहित उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन गर्न सकिएमा अपेक्षित नतिजा हासिल गर्न सकिनेछ।
विशेषतः लागू औषध प्रयोगकर्तालाई उपचारमा उचित व्यवस्थापनमा जोड नदिई कतिपय मुलुकहरूले मृत्युदण्ड दिने, लामो समय कारावासमा राख्ने, कतिपयले मेथाडोन, बुप्रेनोर्फिनजस्ता वैकल्पिक औषधि प्रदान गर्ने, र कतिपयले मनोचिकित्सकीय औषधि दिएर केवल शान्त राख्ने प्रयास मात्र गरिरहेका छन्।
केही मुलुकमा विद्यमान कानुनको कार्यान्वयनमा निष्क्रियता देखिन्छ। समस्याको सही पहिचान र न्यूनीकरणका लागि दीर्घकालीन गुरुयोजना नबनाइँदा, यस क्षेत्रका विज्ञहरूलाई प्राथमिकता दिनुको सट्टा अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धिका विषयलाई केवल औपचारिक अन्तर्राष्ट्रिय दिवस मनाउने सीमामा सीमित गरिएको देखिन्छ। वास्तविक समाधान र न्यूनीकरणमा सामूहिक चासो पैदा गर्न सकिएको छैन।
यदि लागू औषध दुर्व्यसन त्यागेर सहजै सामान्य जीवनमा फर्कन सकिने भए, संसारभर मृत्युदण्ड, दीर्घकालीन कारावास वा वैकल्पिक लागू औषध दिने रणनीति अपनाउनु पर्ने थिएन।
नेपालमा पनि लागू औषध दुर्व्यसनमा परेका व्यक्तिलाई दुर्व्यसनमुक्त गरी समाजमा पुनःस्थापना गर्नु चुनौतीपूर्ण विषय बनेको छ। हालसम्म अभ्यासमा ल्याइएका ऐन, कानुन, नियम, निर्देशिका, मार्गदर्शन, रणनीति र परिपत्रहरू पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्।
नेपालको सामाजिक परिवेश, संस्कृति र जनजीवनअनुकूल पाठ्यसामग्री तथा कोर्स राज्यस्तरबाट विकास हुन सकेको छैन। सीमित लेखकका लेखहरू गृह मन्त्रालयद्वारा वार्षिक रूपमा केही प्रकाशनमा मात्र सीमित छन्। यस क्षेत्रमा लामो अनुभव भएका केही विज्ञले पुस्तक प्रकाशन गरे पनि राज्यले तिनलाई संस्थागत ज्ञान–पूँजीका रूपमा स्वीकार गरेको पाइँदैन।
उपचार केन्द्रहरूमा केही कोर्स देखिए तापनि ती प्रभावकारी छैनन्। चेतना नेपालले वि.सं. २०६२ सालदेखि निरन्तर अनुसन्धान तथा नेपाल र अन्य मुलुकमा भएका अभ्यासहरूको अध्ययन गर्दै आएको छ। दुर्व्यसन न्यूनीकरणमा प्रयास भए तापनि पूर्ण परिणाम प्राप्त हुन सकेको छैन।
लागू औषध प्रयोगकर्ताको मनोभावनालाई केन्द्रमा राखी मनोवैज्ञानिक उपचार पद्धति अपनाई पाठ्यपुस्तक, समयावधि, भौतिक संरचना तथा उपयुक्त वातावरण तयार गरिएको देखिँदैन। यी सबै पक्ष व्यवस्थित गर्न सके लागू औषध दुर्व्यसन न्यूनीकरण सम्भव रहेको चेतना नेपालको ठम्याइ छ।


हालसम्म प्रयोगमा रहेका उपचार पद्धतिहरू
१) नार्कोनन पद्धति (Narconon)
२) थेराप्युटिक कम्युनिटी एप्रोच (TC)
३) नार्कोटिक्स एनोनिमस (NA) तथा अल्कोहोलिक्स एनोनिमस (AA)
४) समग्र दृष्टिकोण (Holistic Approach)
५) अन्य विधिहरू :
चिकित्सकीय उपचार
नाल्ट्रेक्सोन प्रयोग
वैकल्पिक औषधि
अध्यात्मिक उपचार
अकुपञ्चर
कारागारमा राखी सुधार गर्ने विधि
यी विधिहरू एकअर्काका पूरक नहुनु नै मुख्य समस्या हो। केवल थुनेर राख्ने, घरमै सीमित परामर्श दिने, आफूजस्तैले आफूजस्तैलाई प्रशिक्षण दिने, वा केवल औषधि र अध्यात्मिक उपायमा निर्भर रहँदा अपेक्षित नतिजा आउँदैन। यही कारणले उपचार तथा पुनःस्थापनाप्रति विश्वास कम हुँदै गएको छ।
जसरी प्रहरी, सशस्त्र प्रहरी वा सेना निर्माण गर्न निश्चित पाठ्यक्रम, तालिका र दक्ष प्रशिक्षक आवश्यक हुन्छ, त्यसैगरी लागू औषध प्रयोगकर्तालाई पुनःमानव निर्माण गर्न वैज्ञानिक कोर्स अपरिहार्य छ।
लागू औषध प्रयोगकर्ता शारीरिक, मानसिक तथा व्यवहारिक रूपमा गम्भीर जोखिममा हुन्छन्। उनीहरूलाई बिना पाठ्यक्रम, बिना संरचित तालिम केवल परामर्श वा बन्द गरेर उपचार सम्भव ठान्नु अव्यावहारिक हुन्छ।
लागू औषध न्यूनीकरणका पाँच रणनीति
१) जोखिममा रहेका किशोर–किशोरीलाई विज्ञद्वारा सचेतना
२) प्रयोगकर्ताको पहिचान (अभिभावक र आमा समूहसहित)
३) उपचारप्रति प्रयोगकर्ता र परिवारमा प्रेरणा जगाउने
४) उपचारपश्चात सीपमूलक तालिम
५) ओसारपसार तथा बिक्रीवितरणमा कानुनी कडाइ
उपचार तथा पुनःस्थापना केन्द्रका उद्देश्य
१) उपचार र पुनःस्थापना
२) शारीरिक तथा मानसिक स्वास्थ्य सुधार
३) सीप विकास र सामाजिक जिम्मेवारी बोध
उपचार केन्द्रको आवश्यक संरचना
१) स्वच्छ र सुरक्षित वातावरण
२) समयसापेक्ष, वैज्ञानिक तथा व्यवहारिक पाठ्यक्रम
३) दक्ष, प्रशिक्षित तथा अनुभवी जनशक्ति
४) व्यायामशाला, पुस्तकालय
५) व्यक्तिगत अध्ययन, साधना र लेखन–पठनको वातावरण
६) पार्किङ, खेलमैदानसहितको भौतिक संरचना
नेपाल सरकार, गृह मन्त्रालयको लागू औषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७६ पूर्ण रूपमा कार्यान्वयन हुन आवश्यक छ।
न्यूनतम ८३२ घण्टाको पाठ्यकोर्स
स्थानीय आवश्यकता, संस्कृति र कानुनी संरचनालाई ध्यानमा राखी, विज्ञ, चिकित्सक, मनोसामाजिक विशेषज्ञ, परिवार, स्थानीय सरकार तथा गैरसरकारी संस्थाको सहकार्यमा न्यूनतम ८३२ घण्टाको अनिवार्य कोर्स लागू गर्न सकिएमा दुर्व्यसन न्यूनीकरण सम्भव छ।
उपयुक्त वातावरण, पाठ्यक्रम र पाँच रणनीतिको समग्र कार्यान्वयनबाट लागू औषध दुर्व्यसन न्यूनीकरण गर्दै दीर्घकालीन रूपमा शून्यतर्फ लैजान सकिन्छ।
कोर्स तयार गरौँ, दुर्व्यसन न्यूनीकरण गरौँ।
इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार