काठमाडौँ । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र केभिसी हाउण्ड्सले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको रोमाञ्चक भिडन्तमा आर्मीले कीर्तिपुरलाई र हाउण्ड्सले रोयल बास्केटबल क्लबलाई स्तब्ध बनाएका हुन् ।
आर्मीको दबाब, लक्कीको कीर्तिमानी स्कोर
मंगलबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले कीर्तिपुर बास्केटबल क्लबलाई ९६–७९ को अन्तरले पराजित गर्यो । आर्मीको जितमा सुरुवाती दुई क्वाटरको अग्रता निर्णायक बन्यो । पहिलो क्वाटरमा ३१–१६ र दोस्रोमा २७–१३ को अग्रता बनाएको आर्मीले हाफ टाइसम्म ५८–२९ को फराकिलो अन्तर कायम गरेको थियो ।
तेस्रो क्वाटर २३–२३ को बराबरीमा सकिए पनि चौथो क्वाटरमा कीर्तिपुरले २७–१५ को पुनरागमन प्रयास गरेको थियो, तर त्यो जितका लागि पर्याप्त हुन सकेन ।
हारका बावजुद कीर्तिपुरका लक्की महर्जनले ऐतिहासिक प्रदर्शन गरे । उनले एक्लै ४३ अंक जोड्दै जारी लिगको एकै खेलमा सर्वाधिक स्कोर गर्ने खेलाडीको कीर्तिमान बनाए । लक्की नै ‘म्यान अफ दि म्याच’ चुनिए । यता, विजयी आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक २० अंकको योगदान दिए ।
यो जितसँगै आर्मी ११ खेलबाट २१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान २१ अंक भए पनि स्कोर अन्तरका आधारमा गोल्डेनगेट शीर्ष र टाइम्स तेस्रो स्थानमा छन् ।
हाउण्ड्सको लगातार आठौँ जित
मंगलबारै भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले रोयल बास्केटबल क्लबमाथि १००–६९ को फराकिलो जित निकाल्यो । सुरुवाती क्वाटरमा २३–२८ ले पछि परेको हाउण्ड्सले त्यसपछिका तीनवटै क्वाटरमा उत्कृष्ट पुनरागमन गर्यो ।
हाउण्ड्सले दोस्रो क्वाटर २०–८, तेस्रो २८–१९ र अन्तिम क्वाटर २९–१३ ले आफ्नो पक्षमा पारेको थियो । हाउण्ड्सको यो लगातार आठौँ जित हो । ११ खेलबाट १९ अंक जोडेको हाउण्ड्स चौथो स्थानमा सुरक्षित छ । खेलमा हाउण्ड्सका विजय बुर्जाले २० अंक जोडे भने तोमार हर्शवर्दन ‘म्यान अफ दि म्याच’ घोषित भए ।
यस्तो छ प्रतियोगिताको समीकरण
नेपाल बास्केटबल संघ (नेबा) द्वारा आयोजित यस दोस्रो संस्करणको लिगमा ८ टोलीले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणका कुल ५६ खेलपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
- विजेता पुरस्कार: ४ लाख रुपैयाँ
- उपविजेता: २ लाख रुपैयाँ
- तेस्रो स्थान: १ लाख रुपैयाँ
लिगमा अब प्लेअफ समीकरण रोचक बन्दै गएको छ, जहाँ गोल्डेनगेट, आर्मी, टाइम्स र हाउण्ड्स शीर्ष चारको मुख्य दाबेदारका रूपमा देखिएका छन् ।
















