आमा तिमी दिनरात मलाई सम्झेर आँसु झार्छ्यौ होला
किनकि म सानो छँदा
पिठ्युँमा बोकेर उकालो ओरालो गर्थ्यो रे।
पानी पधेरा धाउँथ्यौ रे
घाँस दाउरा गर्दा होस् या बारीमा डल्ला कुट्दा
म तिम्रै पिठ्युमा हुन्थे रे
भकारो सोर्दा गोबर लाग्छ भनेर बोकी बोकी सबै काम गर्थ्यौ रे
तिमी मलाई असाध्यै माया गर्थ्यौ
किनकि तिमीमा निश्चल, निस्कपट र निस्वार्थ माया थियो
तिम्रा खुट्टामा चप्पल हुँदैन थिए
हातमा ठेला उठेका हुन्थे
तिमी आफू नखाई नखाई मलाई अघाउँथ्यौ
मेरो खुसीमा तिमी रमाउँथ्यौ
आमा
आज म विदेशिएको छु
धेरै पैसा कमाएर पठाएको छु
तिमीलाई खुसी मिल्छ भनेर
तर आमा साथमा म छुइन
मेरो पैसाले तिमीलाई खुसी कहाँ मीलेछ र
आज तिमीलाई दम र मुटुको रोग लागेछ
उपचार गर्न लाने कोही छैन आमा
म त यहाँ बाध्यतामा छु
आउन सकिन आमा
तिमीले अन्तिम स्वास फेर्दा पनि
मेरै नाम लियौ रे
तिम्रो प्राण जाँदा म तिम्रो छेउमा बस्नुपर्ने
तर आमा
आज तिमी मरेर पनि अस्पतालमा
मलाई नै पर्खिएर बसेकी छौ रे
कस्तो विडम्बना
पहिले त छोराछोरीले लासलाई कुर्थे रे आमा
आज लासले विदेशिएका छोराछोरी कुरेर बसेको छ

   शान्ता उप्रेती

हल्दीबारी -१ ( झापा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
23
+1
6
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार