हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ महिना अगाडि

हल्दिबारी–३ टोल स्तरीय युनिटी लिग कपमा आज जलथल–३ र जलथल–४ को शानदार जित

झापा, हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिका–३ मा वडाका युवाहरूबीच आयोजना गरिएको टोल स्तरीय लिग फुटबल प्रतियोगिता “हल्दिबारी–३ युनिटी फुटबल कप” हिजोबाट सुरु भएको छ। प्रतियोगिताको दोस्रो दिनको खेल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

Advertisement


कार्यक्रममा वडा नं–३ का अध्यक्ष विष्णु ओली, वडा सदस्य कर्ण भण्डारी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनक कुमारी राई, जलथल प्रहरी चौकीका इन्चार्ज सञ्जिव चौधरी, ढडुवा बजार व्यवस्थापन समितिका उपाध्यक्ष तुलसा आचार्य, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेल, ग्रामीण प्रेस क्लबका अध्यक्ष नेत्र विक्रम बिमली, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दोस्रो दिनको पहिलो खेलमा जलथल–३ र जलथल–२ बीच प्रतिस्पर्धा भएको थियो। खेलको सुरुवातमै जलथल–३ का जर्सी नम्बर ३ का अनुभवी खेलाडी अमृत मेचेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जवाफी क्रममा जलथल–२ का जर्सी नम्बर ११ का विक्रम पुरीले एक गोल फर्काए पनि दोस्रो हाफमा पुनः अमृत मेचे र मिलन बनले एक–एक गोल थपेपछि जलथल–३ ले ३–१ को जित हात पार्‍यो। उत्कृष्ट प्रदर्शन गरेका अमृत मेचेले प्रतियोगितामा हालसम्म ५ गोल गरिसकेका छन्।

Advertisement


त्यसैगरी दोस्रो खेलमा जलथल–४ र जलथल–१ बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। जलथल–४ का किरण मेचेले पहिलो गोल गर्दै खेलको सुरुवात गरेका थिए। दोस्रो हाफमा जलथल–४ ले उत्कृष्ट लय समात्दै किरण मेचे, विवेक लिम्बू र सचिन खड्काले एक–एक गोल थपे। किरण मेचेले आज २ गोल गर्दै प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल संख्या ६ पुर्‍याएका छन्। जलथल–१ का तर्फबाट मन्दिप बोहोराले एक गोल गरे पनि खेल ४–१ ले जलथल–४ को पक्षमा समाप्त भयो।


पहिलो खेलमा जलथल–३ का आशिष मेचे र दोस्रो खेलमा जलथल–४ का हिमाल लिम्बू ‘म्यान अफ द म्याच’ घोषित भए। साथै, ढडुवाका व्यवसायी रोहित गिरीले सचिन खड्कालाई उत्कृष्ट खेल प्रदर्शनका लागि विशेष पुरस्कार प्रदान गरेका थिए।
ढडुवा युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन तथा सजीकरण सचिव अभिषेक खतिवडाले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)