• देवेन्द्र किशोर ढुङगाना
    मैले मेरो लागि बोलेको होइन,
    मेरो स्वर त
    भोका आमाको चिच्याहट हो,
    मेरो आवाज त खेत बेचेर छोरालाई पढाउने
    बाउको पसिनाको हिसाब हो।
    यदि देशको कुरा गर्दा मलाई थुन्छौ भने
    थाहा पाऊ—
    यो मुख होइन, सत्य थुन्न
    खोजेका हौ तिमीहरूले।

साँचो बोल्नेहरूको मुख बन्द गरेर
कुनै देश बाँच्दैन,
इतिहासका पानामा लेखिएको छ—
जेलले
विचार मार्दैन,
गोलीले
सपना मर्दैन,
राष्ट्रप्रेमलाई हतकडी लाग्दैन।

देश बोल्नेबाट खतरा हुँदैन,
देश बेच्नेबाट
खतरा हुन्छ,
कुर्सीमा बसेर सौदा गर्नेहरूबाट हुन्छ,
राति सम्झौता गरेर
बिहान राष्ट्रवादको भाषण गर्नेहरूबाट हुन्छ।

सिंहदरबार जलाउनेहरु र ,
सिंहदरबार बेच्नेबाट डर लाग्छ मलाई,
फाइलभित्र लुकाइएको
देशको भविष्य बेचिएको कागजबाट डर लाग्छ।

चुनाव गराउन आएका मन्त्रीहरू
कहाँ छन् आज?
जनताको ढोका ढकढक्याएर भोट माग्नेहरू
जनताको पीडा सुन्न किन बहिरा भए?
बाउले छोराको लागि दुलही खोजेर
आफैँ बिहे गर्ने
बाउ जस्तै
देशको नाममा कमाइ गरेर
आफ्नै खल्ती भर्नेहरू—
के यिनै हुन् अभिभावक?

तिमीहरू सच्चा अभिभावक हुन सकेनौ,
सच्चा नागरिक नै बन्न सकेनौ,
आह ! कुर्सी मोह—
कुर्सी तिमीहरूको भाग्य बिधाता भयो,
जनता तिमीहरूको सिँढी मात्र भयो।

मलाई थुन्ने होइन,
राज्य माथि खेलबाड गर्नेहरूलाई थुन्नुपर्छ,
जनताको सपनामा ताला लगाउनेहरूलाई थुन्नुपर्छ,
लोकतन्त्रको नाममा नाटक गर्नेहरूलाई थुन्नुपर्छ।

सम्मानित सदनमा
खाली कागजको खोस्टो देखाएर
“प्रमाण मसँग छ” भन्नेहरूलाई
किन कानुन लाग्दैन?
किन साइबर लाग्दैन?
किन न्याय निदाउँछ
जब चोरहरू सूट–टाइ लगाएर बोल्छन्?

म डराउँदिनँ।
डर त उनीहरूलाई लागोस्
जसले इतिहाससँग विश्वासघात गरेका छन्।
म बोलिरहन्छु—
किनकि मेरो स्वर
एक्लो होइन,
यो लाखौँ युवाको मुटुको धड्कन हो।

अब हामी सजग हुनुपर्छ,
नयाँ खतरा बन्दुकबाट होइन,
अल्गोरिदमबाट आउँछ,
स्क्रिनभित्र लुकेको षड्यन्त्रबाट आउँछ,
फेक खबर, झुटा ट्रेन्ड,
किबोर्डको युद्धबाट आउँछ।

जनमत किनेर
देश कब्जा गर्न खोज्ने शक्तिबाट,
हाम्रो सोच नै ह्याक गर्न खोज्ने
डिजिटल दलालहरूबाट—
अब जोगिनै पर्छ।

भ्रमको खेती गर्नेहरू,
झुटको मल हाल्नेहरू,
हेरफेरको पानी हाल्नेहरू—
यिनले लोकतन्त्रको बोट सुकाउन खोज्दैछन्।

हामी चिन्नै पर्छ
कसले सत्य बोल्छ,
कसले स्क्रिप्ट पढ्छ।
कसले राष्ट्र बनाउँछ,
कसले राष्ट्र बेच्छ।

यो मेरो देश बचाउने लडाइँ हो,
यो कुर्सीको खेल होइन,
यो भविष्यको खेल हो,
हाम्रो सन्तानको सपनाको खेल हो।

आमा अझै लाइनमा ग्यास खोजिरहेकी छिन्,
बाउ अझै वैदेशिक टिकट खोजिरहेछन्,
युवा अझै रोजगारीको बाटो खोजिरहेछन्—
तर नेताहरू
सत्ता गणित मिलाइरहेछन्।

कति समय यस्तो चल्छ?
कति पुस्ता बिदेसिन्छ?
कति सपना पासपोर्टमा सीमित हुन्छ?

अब उठ्नुपर्छ,
अब बोल्नुपर्छ,
अब चुप लागेर बस्नु अपराध हो।

एकता चाहिन्छ—
जात होइन, वर्ग होइन,
भाषा होइन, धर्म होइन,
पहिलो परिचय— हामी नेपाली।

अनुशासन चाहिन्छ
सडकमा मात्र होइन,
विचारमा, व्यवहारमा,
कर्तव्यमा।

राष्ट्रप्रेम चाहिन्छ—
नारामा होइन,
काममा,
पसिनामा,
इमानदारीमा।

देश बचाऔँ—
यो नारा मात्र होइन,
यो जिम्मेवारी हो।
देश बचाऔँ—
यो भावना मात्र होइन,
यो प्रतिज्ञा हो।

हामी किताब उठाऔँ,
कलम उठाऔँ,
क्यामेरा उठाऔँ,
सत्य उठाऔँ—
र अन्यायको सामुन्ने उभिऔँ।

जब युवा जाग्छ,
साम्राज्य ढल्छ,
जब जनता बोल्छ,
तानाशाह काँप्छ।

त्यसैले
अब डर होइन,
अब मौन होइन,
अब सम्झौता होइन
अब संघर्ष।

हाम्रो माटो
हाम्रो हो,
हाम्रो भविष्य
हाम्रो हो,
हाम्रो संविधान हाम्रो हो—
कसैको
खेलौना होइन।

देशजोगाऔँ,
सजग बनौँ,
लोकतन्त्र रक्षा गरौँ,
सत्यको
मशाल बालौँ,
भोलिको बिहान आफैं लेखौँ।

यदि फेरि मलाई थुन्छौ भने
थाहा पाऊ—
हजारौँ स्वर उठ्नेछन्,
मेरो आवाजभन्दा ठूलो।

किनकि
देश कुनै नेताको सम्पत्ति होइन,
देश जनता हो—
र जनता
कहिल्यै हार्दैन।

आऊ साथीहरू,
हातेमालो गरौँ,
एक स्वरमा कराऔँ

देश बचाऔँ!
नेपाल बचाऔँ!
लोकतन्त्र जोगाऔँ!
सजग बनौँ, संगठित बनौँ,
र इतिहास फेरि आफैं लेखौँ!
भद्रपुर, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार