दमक, झापा झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा बस्ने ५४ वर्षीय तुल बहादुर बिष्टको जंगलमा मृत अवस्थामा शव फेला परेको छ। घरबाट घाँस काट्न भनी हिँडेका बिष्ट केही दिनदेखि बेपत्ता थिए।
गत चैत १९ गते बिहान अन्दाजी १० बजे घर नजिकै रहेको हुम्से दुम्से सामुदायिक वनमा बाख्राका लागि घाँस काट्न भनी निस्किएका बिष्ट त्यसपछि घर फर्किएका थिएनन्। आफन्त र छरछिमेकीले उनको खोजी गर्ने क्रममा आज चैत २३ गते बिहान ९ बजे उक्त सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा एक अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिउँसो २ बजेर १२ मिनेट जाँदा शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ।
घटनास्थलको अवस्थालाई नियाल्दा बिष्टको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हुनसक्ने बलियो आशंका गरिएको छ। स्थानीयवासी र परिवारजनमा शोकको वातावरण सिर्जना भएको छ भने प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखेको छ।


















