झापा । शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीमा प्रहरीले १३ ग्रामभन्दा बढी ब्राउनसुगर (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३२ वर्षीय गंगा बहादुर मगरलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आइतबार बिहान ११:४५ बजे मगरको घरमा खानतलासी गरिएको थियो । सो क्रममा उनले सुत्ने कोठाभित्र प्लाष्टिकमा स–साना पोका बनाउँदै गरेको अवस्थामा १३ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
मगरले आफ्नै घरबाट लागुऔषध सेवन तथा बिक्री वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । बरामद गरिएको वस्तु लिसाइलो पदार्थ रहेको र त्यसलाई परीक्षणका लागि पठाइने तयारी भइरहेको छ ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापाका विभिन्न स्थानमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको छ ।


















