नेत्र बिक्रम बिमली : झापा । झापा गाउँपालिकामा गत फागुनको अन्तिम सातादेखि चैतको दोस्रो सातासम्म आएको हावाहुरी, असिना तथा वर्षाले मकैबाली र फलफूल खेतीमा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ। गाउँपालिका कृषि शाखाका अनुसार पालिकाभित्रका सातै वडामा लगाइएको करिब ४ हजार ८१० हेक्टर क्षेत्रफलको मकैबाली प्रभावित भएको छ।
कृषि शाखाबाट प्राप्त विवरणअनुसार वडा नम्बर १ मा ४२५ हेक्टर क्षेत्रफलमा लगाइएको मकैबाली पूर्ण रूपमा नष्ट भएको छ भने २७५ हेक्टरमा आंशिक क्षति पुगेको छ। सोही वडामा ५ हेक्टरमा लगाइएको फलफूलमध्ये ३ हेक्टरमा पूर्ण र २ हेक्टरमा आंशिक क्षति भएको छ।
वडा नम्बर २ मा ५०९ हेक्टर मकैबाली पूर्ण रूपमा नष्ट भएको छ भने ३२० हेक्टरमा आंशिक क्षति पुगेको छ। वडा नम्बर ३ मा ५१८ हेक्टर मकैबाली पूर्ण रूपमा नष्ट भएको छ भने २०३ हेक्टरमा आंशिक क्षति पुगेको छ। यस वडामा ३ हेक्टर केरा खेती पूर्ण रूपमा नष्ट भएको छ भने १ हेक्टरमा आंशिक क्षति भएको छ।
वडा नम्बर ४ मा २९१.९ हेक्टर मकैबाली पूर्ण रूपमा नष्ट भएको छ भने १०० हेक्टरमा आंशिक क्षति पुगेको छ। वडा नम्बर ५ मा ३९९ हेक्टर मकैबाली पूर्ण रूपमा नष्ट भएको छ भने १७१ हेक्टरमा आंशिक क्षति पुगेको छ।
त्यस्तै, वडा नम्बर ६ मा ५४७.३२ हेक्टर मकैबाली पूर्ण रूपमा नष्ट भएको छ भने १२० हेक्टरमा आंशिक क्षति पुगेको छ। वडा नम्बर ७ मा ६७०.१८ हेक्टर मकैबाली पूर्ण रूपमा नष्ट भएको छ भने १५० हेक्टरमा आंशिक क्षति पुगेको छ। यस वडामा ५ हेक्टर केरा खेती पूर्ण रूपमा नष्ट भएको छ भने १ हेक्टरमा आंशिक क्षति भएको छ।
गाउँपालिकामा किसानहरूले करिब ७ हजार २५० हेक्टर क्षेत्रफलमा मकै खेती गरेका थिए। तीमध्ये ठूलो हिस्सा अर्थात् ४ हजार ८१० हेक्टरमा क्षति पुगेको कृषि शाखाले जनाएको छ।


















