देव बाँस्कोटा

नेपालीमा एउटा प्रचलित उखान छ — “कागले कान लग्यो” भन्दैमा आफ्नो कान नछामी कहिल्यै कुद्नु हुँदैन । वर्तमान समाज जति धेरै बुझ्ने र शिक्षित बन्दै गएको छ, त्यति नै जटिल बन्दै गएको छ । यसको उदाहरण मानिस आफैं बन्दै गएको छ । नेपालको पत्रकारिता पेशा गम्भीर संकटमा छ । समाजले अब भ्रमित सूचना होइन, सत्य, तथ्य र निष्पक्ष समाचार चाहन्छ ।
पछिल्लो समय एउटा लर्को चलेको छ — फेसबुक मोनेटाइजेशन गर्ने र त्यसबाट लाखौँ पैसा कमाउने दिवासपना । जबकि यो असम्भव जस्तै हो । किनभने शेयर बजारमा लगानी गर्ने सबैले कमाउँदैनन्, र व्यवसाय गर्ने सबै धनी हुँदैनन् । पत्रकारिताको नाममा समाजमा पित पत्रकारिता पनि त्यत्तिकै बढ्दै गएको छ । सबै निकायको खबरदारी गर्ने राज्यको चौथो अङ्ग — पत्रकारहरूले पनि सुनेको भरमा, विना जाँचबुझ, भ्युज बढाउने चक्करमा समाजमा गलत सूचना प्रवाह गरिरहेका छन् । यसको जवाफदेहिता कसले दिने ? मनलागी जे गर्न पाइँदैन — यो छुट कसैलाई पनि छैन । समाजलाई भाँड्ने र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पार्ने खालका भ्रमित सूचनाहरू कसैले पनि प्रसारण वा प्रकाशन गर्न मिल्दैन । यस्ता, भ्रमित समाचारहरूको चुहावट पत्रकारहरू वा बौद्धिक स्तरका व्यक्तिहरूबाट नै भइरहेको छ । उदाहरणका लागि नभएको कुरालाई पनि “हो” भन्ने, अनि फेरि हैन् । “अब सच्चिने र यसतर्फ ध्यान दिने हो कि ?” समाजलाई सुशुूचित गर्ने र कलमको माध्यमबाट नकारात्मक कुरालाई जरैदेखि निर्मूल गर्ने, र सकारात्मक कुरालाई प्रोत्साहन गर्नु नै पत्रकार र पत्रकारिताको धर्म हो । तर विडम्बना — सुन्दा दुःख लाग्छ, जबसम्म सम्बन्धित विषयमा दक्षता र विषयगत ज्ञानमा विज्ञता हुँदैन, तबसम्म हामी पढेलेखेका मानिस मात्र हौँ, शिक्षित होइनौँ । पत्रकारहरू सबै विषयगत विधामा दक्ष हुनुपर्छ । ताकि पत्रकारले तेर्साएको प्रश्नको जवाफ दिन मानिसले “वेकार” वा “बोर” नमानोस् ।
कसैले दिएको अभिव्यक्ति गलत छ र त्यसले समाजमा नकारात्मक प्रभाव पार्छ भने, त्यस्ता समाचारहरू पत्रकारहरूले प्रकाशन वा प्रसारण गर्नु हुँदैन । तर यस विषयमा पनि पत्रकारहरूको गम्भीर लापरवाही देखिन्छ । भ्युजको आधारमा र प्रतिस्पर्धाको नाममा सत्य–तथ्य जाँच नगरी समाचार प्रसारण गर्ने मिडियाहरूप्रति पनि आम जनमानसको विश्वास घट्दै गएको छ । यस विषयमा सबै पत्रकार, मिडिया हाउस र अनलाइन पोर्टलहरू सचेत हुनु आवश्यक छ । होइन भने यसको परिणाम अत्यन्तै दुःखद हुन सक्छ — जुन हामीले कल्पना पनि गर्न सक्दैनौँ । आफ्नो पेशा र धर्मलाई सबैले सम्मान गर्नुपर्छ । होडबाजी, देखासेकी, र पेजहरूमा फलोअर्स र भ्युज बढाउने चक्करमा यसरी नै अन्धभक्त भएर लाग्ने हो भने पत्रकारिता पेशामा गम्भीर समस्या आउन सक्छ । एकपल्ट सोच्नुहोस् — विना पत्रकारिताको समाज र देश कस्तो होला ?
राम्रो, सत्य र निष्पक्ष समाचार मानिसले आफैं खोजेर हेर्छ । बिरामीलाई जबरजस्ती भातको माड कोच्याएजस्तो समाचार कोच्याउनु पर्दैन । पत्रकारहरूले धेरै कुरा बुझेको हुन्नुपर्छ र सँधैँ सन्तुलनमा रहेर आफ्नो पेशा र कामप्रति जिम्मेवार बन्नुपदर्छ , त्यसैले अरूको हल्ला र अफवाहका कारण आफू परिचालित हुनु हुँदैन । जस्तोसुकै अभाव र दबावमा पनि बिक्नु हुँदैन । सत्यको सधैं विजय हुन्छ; झुटको खेती लामो समयसम्म टिक्दैन — यो कुरा सबैले मनन गर्नु आवश्यक छ । स्वतन्त्रताको नाममा पिंजडामा थुनिएको चरालाई त्यसको ढोका खोल्ने जिम्मा बिरालोको हातमा प¥यो भने के हुन्छ होला — सोच्नुहोस् त महोदय ! त्यसैले, आफू नै असुरक्षित हुने स्वतन्त्रता कसैले पनि चाहँनु हुँदैन । पत्रकारहरू पार्टीमा धेरै आस्थावान र आशावादी हुनु हुँदैन । चाहिने भन्दा धेरै चाकडी गर्नु पनि राम्रो होइन — किनकि चियामा धेरै चिनी भयो भने तितो हुन सक्छ । जबसम्म अरूको डर र “म भन्दा जान्ने कोही छैन” भन्ने अहंकार रहन्छ, तबसम्म हामी शिक्षित होइनौँ — अक्षर चिनेका मूर्ख मात्र हौँ । त्यसैले पत्रकारहरू पनि निश्चित नियम, कानुन र नैतिक अनुशासनमा बाँधिनुपर्छ । कानुनभन्दा माथि कोही पनि छैन । पत्रकारिताको धर्म भनेको सधैं सत्य तथा तथ्यमा केन्द्रित हुनु हो । जे भएको छ, ती कुरा मात्र लेख्नुपर्छ; अड्कलबाजी गर्नु पित पत्रकारिता हो ।
हामीले देख्दै आएका छौँ मिडियावाजी गरेर धेरैको जीवनसँग खेलवाड भइरहेको छ । मानिसको पर्सनल लाईफ र गोप्य कुराहरु पनि जब्बरजस्ती बाहिर ल्याउने काम भइरहेको छ । के पत्रकारिताले अरुको जीवन बबार्द पार्नु भन्छ ? यस्तै क्रम निरन्तर चलिरहने हो भने के हुन्छ होला ? अब सबै पत्रकारहरुले समाज र राष्ट्रलाई सही मार्गदिशाा दिनका लागि राम्रा कुराहरुलाई प्रोत्साहन गर्ने बेला आएको छ । यसमा सबैले ध्यान दिन जरुरी छ । अब सबैभन्दा पहिले पत्रकारहरू सक्षम र स्वतन्त्र बन्नुपर्ने अवस्था आएको छ । सामान्य क्यामेरा, मोबाइल फोन वा पिन–माइक बोकेर हिंड्दैमा कोही पनि पत्रकार हुँदैन । कम्तीमा पनि दक्षता र कामको अनुभव आवश्यक छ । धेरै वटा कुकुरहरू भेला भए भने मृग मार्दैनन् — आफैंमा बाझ्न थाल्छन् । अहिलेको पत्रकारिता पनि त्यस्तै भएको छ । सत्य बोल्न सबै डराउने यस्तो अवस्था किन आएको होला ? यस विषयमा कस्ले चासो दिने र समाधानको बाटो खोज्ने ? बेलैमा यस विषयमा गम्भीर चासो दिन आवश्यक छ । अब प्रविधिको युगमा आइपुगेका छौँ । यदि अझै पनि हनुमान र अन्धभक्त हुने हो भने कसैले पनि पत्याउँदैन — किनकि नयाँ पुस्ता दुई कदम अगाडि छ । ठग्ने, छल्ने र सत्यलाई लुकाउने काम अब पत्रकारहरूबाट नहोस् भन्ने चाहन्छ अहिलेको समाज । अब समाजको र जनताको विश्वास कामले जित्न नसकिएको खण्डमा पत्रकार वा नेताहरूको विश्वास गुम्ने अवस्था आउन सक्छ । पत्रकारिता सधैं सत्यवान हुनुपर्छ । पत्रकारहरू आफ्नो पेशामा जिम्मेवार बन्नु बाहेक अर्को विकल्प छैन । वेलैमा सत्मार्गको यात्रा तय गरौँ र असल, इमानदार नागरिकको पहिचान दिऔँ । अभाव र दबावमा परेर भ्रमित र समाजलाई भाँड्ने समाचार प्रकाशन गर्ने कार्यमा ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार