काठमाडौं । रुकुम पूर्वको सुनदह लाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाले जोड दिएका छन्। नेपाल पर्यटन बोर्ड र पुथा उत्तरगंगा गाउँपालिकाको सहकार्यमा तयार गरिएको डकुमेन्ट्रीको प्रिमियर कार्यक्रममा यस्तो धारणा राखिएको हो।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै ‘विशेष गन्तव्य’का रूपमा विकास गर्नुपर्ने बताए। उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र विभिन्न निकायबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे।

“सुनदहको वास्तविक सौन्दर्यलाई डकुमेन्ट्रीमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ,” उनले भने, “पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर यसको प्रवर्द्धन गर्नुपर्छ।” हिमाली जिल्ला रुकुम पूर्वमा पर्यटन विकासका लागि सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र नयाँ कार्यक्रम अघि बढाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

लुम्बिनी प्रदेशसभा सदस्य दिलकुमारी बुढाले सुनदहलाई “स्वर्गबाट चोइटिएर खसेको टुक्रा”को संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमणका लागि आग्रह गरिन्। यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको उनले बताइन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई “विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य” का रूपमा उल्लेख गर्दै रुकुम पूर्वका अन्य सम्भावित गन्तव्यसँगै यसको ब्रान्डिङ गर्नुपर्ने बताए। नयाँ गन्तव्यको खोजी र विकासमार्फत पर्यटन विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

पुथा उत्तरगंगा गाउँपालिका–३ का वडाध्यक्ष वमबहादुर बुढाले पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न प्रदेश र केन्द्र सरकारसँग आग्रह गरे। “सडक, पुल तथा आधारभूत संरचना बिना दिगो पर्यटन सम्भव हुँदैन,” उनले भने।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। २८ मिनेट लामो डकुमेन्ट्रीले सुनदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
समुद्री सतहबाट ४ हजार ४३५ मिटर उचाइमा अवस्थित सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थल हो। यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ वन्यजन्तु तथा यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले पनि यसको उच्च महत्व रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार