: देशबन्धु क्षेत्री
नेपाली राजनीति यतिबेला एउटा विचित्र मोडमा उभिएको छ। हरेक चुनाव नजिकिँदै जाँदा “नयाँ अनुहार”, “नयाँ विकल्प”, “नयाँ शक्ति” भन्ने नाराले बजार तताइन्छ। सामाजिक सञ्जालमा चर्का भाषण, भीडमा भावनात्मक आक्रोश, र मिडियामा बनाइएका नायकहरूको चर्चा—यी सबैले क्षणिक तरंग त पैदा गर्छन्, तर यथार्थको जमिनमा उत्रिँदा ती धेरैजसो हल्ला मात्रै सावित भएका छन्। नेपाली जनताले पनि अब विस्तारै बुझ्न थालेका छन्—‘नयाँ देखिनु’ र ‘नयाँ हुनु’ फरक कुरा हो।
विगतका केही वर्षमा राजनीतिमा केही पात्रहरू एकाएक उदाए। उनीहरूलाई कसैले ‘जादुई समाधान’ बोकेर आएका उद्धारक देखायो, कसैले ‘जुलिफर’ त कसैले ‘जेलस्की’ शैलीका क्रान्तिकारी नेताको उपमा दियो। तर प्रश्न के हो भने—के उनीहरूसँग देश चलाउने स्पष्ट नीति थियो? के उनीहरूसँग संस्था निर्माण गर्ने क्षमता थियो? के उनीहरूले व्यवस्थागत सुधारको खाका प्रस्तुत गरे? यदि छैन भने त्यो नेतृत्व केवल लोकप्रियताको बुलबुला मात्र हो, जुन समयको हावाले सजिलै फुटाइदिन्छ।
राजनीति केवल नाराले चल्दैन, शासन केवल स्टन्टले टिक्दैन। राज्य सञ्चालन अनुभव, नीति, संयम र संस्थागत सोचले सम्भव हुन्छ। दुर्भाग्यवश, हाम्रा केही ‘नयाँ’ भनिएका पात्रहरू हल्ला र प्रचारमा बलिया भए पनि नीतिगत गहिराइमा कमजोर देखिए। परिणामस्वरूप जनतामा फेरि निराशा थपियो। उनीहरूले महसुस गरे—पुरानाले धोका दिए भने नयाँले भ्रम दिए।
समयले अहिले नेपाली जनतासामु एउटा गम्भीर प्रश्न खडा गरेको छ—के हामी फेरि प्रचारको चमकमा भुलिने कि वास्तविक परिवर्तन खोज्ने? देशले कुशासन, भ्रष्टाचार, बेथिति र अराजकता धेरै भोगिसकेको छ। जनताले अब भाषण होइन, परिणाम खोजेका छन्; नारा होइन, नीति खोजेका छन्; लोकप्रियता होइन, जिम्मेवारी खोजेका छन्।
यही कारणले अब “हल्लाको राजनीति” को आयु छोटिँदै गएको छ। सामाजिक सञ्जालमा भाइरल भएर मात्रै चुनाव जित्ने समय समाप्त हुँदैछ। गाउँ–टोलका नागरिकले अब कामको हिसाब माग्न थालेका छन्। सडक, अस्पताल, शिक्षा, रोजगारी—यी ठोस विषयहरूमा उत्तर दिन नसक्ने नेता चाहे कति नै चर्चित किन नहोस्, उनीहरूको लोकप्रियता कागजी फूलझैँ ओइलिन्छ।
नेपाली राजनीतिमा उदाएका केही ‘सेलिब्रेटी नेता’ हरू अब चुनावी मैदानमा निरीह दर्शक बन्ने अवस्था आउनु स्वाभाविक हो। किनकि राजनीति रंगमञ्च होइन, जिम्मेवारीको कठोर परीक्षा हो। यहाँ अभिनयले होइन, कामले मूल्यांकन हुन्छ। भावनाले होइन, परिणामले विश्वास जितिन्छ।
यसको अर्थ पुरानै शक्तिहरू निर्दोष छन् भन्ने होइन। उनीहरूले पनि आत्मसमीक्षा गर्नैपर्छ। यदि पुराना दलहरूले सुध्रिने प्रयास गरेनन् भने जनताको आक्रोश फेरि नयाँ विकल्प खोज्न बाध्य हुनेछ। तर त्यो विकल्प पनि केवल ‘अनुहारको नवीनता’ होइन, ‘विचार र कार्यशैलीको नवीनता’ हुनुपर्छ।
आज देशलाई चाहिएको छ—सिद्धान्तमा स्पष्ट, व्यवहारमा इमानदार र काममा परिणाममुखी नेतृत्व। हल्लाले क्षणिक ताली पाउन सक्छ, तर दीर्घकालीन विश्वास जित्न सक्दैन। लोकतन्त्रमा अन्तिम निर्णायक जनता नै हुन्, र जनताको स्मृति पहिलेभन्दा धेरै परिपक्व भइसकेको छ।
त्यसैले अब समय आएको छ—राजनीति प्रचारको होइन, प्रदर्शनको होस्; व्यक्तिको होइन, नीतिको होस्; र हल्लाको होइन, वास्तविक परिवर्तनको होस्। ‘जुलिफर’ र ‘जेलस्की’ शैलीका क्षणिक नायकहरू इतिहासका फुटनोट बन्न सक्छन्, तर राष्ट्र निर्माण गर्ने शक्ति सधैं जिम्मेवार, स्थिर र काम गर्ने नेतृत्वमै निहित हुन्छ।


















