रति (नाम परिवर्तन) विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेका एक मेधावी विद्यार्थी थिए। बी.एस्सी. उत्तीर्ण गरेपछि विदेश गएर एम.एस्सी. अध्ययन गर्ने उनको ठूलो सपना थियो। विशेषगरी अमेरिका जाने चाहना उनीभित्र पहिलेदेखि नै गहिरो रूपमा बसेको थियो। त्यो रहर रोक्ने अवस्थामा हामी आमा–बुबा पनि थिएनौँ।
छोरा रति आफ्ना केही साथीहरूसँग अमेरिका जाने प्रक्रिया अघि बढायो। भिसा लाग्यो, सबै कागजात पूरा भए, र उनी अमेरिका प्रस्थान गरे। सुरुवाती दिनहरू राम्रै थिए। नियमित रूपमा सम्पर्क हुन्थ्यो, हामी ढुक्क थियौँ। तर समय बित्दै जाँदा सम्पर्क क्रमशः कम हुँदै गयो र एक वर्षपछि त लगभग टुट्नै पुग्यो।
एक दिन अचानक अपरिचित नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्तिले “के तपाईं रतिको बुबा हो?” भनेर सोध्दा म एकछिन अलमलिएँ। सानो स्वरमा “हो” भनेर जवाफ दिएँ। उनले आफ्नो परिचय सञ्जय भनेर दिए—रतिको साथी। त्यसपछि उनले रतिको पछिल्लो अवस्थाबारे सबै कुरा विस्तारै सुनाउन थाले।
ती शब्दहरू सुन्दै जाँदा आत्मा नै काँप्यो। श्रीमती पनि मेरो छेउमै बसेर सबै कुरा सुनिरहेकी थिइन्। आँखाबाट आँसु बग्नु बाहेक हामीसँग केही थिएन। छोरा चार महिनादेखि कलेज र काम दुवै छोडेर दुर्व्यसनमा फसेको रहेछ। साथीभाइले जति सके सहयोग गरे, धेरै खर्चसमेत गरे, तर केही लागेनछ। अन्ततः हार खाएर हामीलाई जानकारी गराएका रहेछन्।
छोरालाई नेपाल फर्काउन धेरै हारगुहार गरियो। अनेक प्रयासपछि हामी छोरालाई नेपाल झिकाउन सफल भयौँ। तर ऊ शारीरिक रूपमा मात्र हाम्रो सामु थियो, मानसिक रूपमा एकदमै टाढा भइसकेको थियो। मनको पीडा कसलाई, कसरी पोख्ने भन्ने अवस्थामा थियौँ।
एक आफन्तको सल्लाहमा हामी चेतना नेपाल पुग्यौँ। त्यहाँ पाएका परामर्श अनुसार उपचार तथा पुनर्स्थापना केन्द्रमा छोरालाई भर्ना गरियो। परामर्शकर्ताबाट थाहा भयो—रति कक्षा १० देखि नै नसाजन्य पदार्थ प्रयोग गर्दै आएको रहेछ। हामीलाई थाहै नभएको रहेछ। त्यो सुन्दा आफूलाई माफ गर्नै नसक्ने अपराधबोध भयो।
हाम्रो भरोसाको एकमात्र सन्तानको यस्तो अवस्था देख्दा पीडाको मापन नै गर्न सकिँदैन। हामीजस्तै दुर्दशा कुनै पनि आमा–बुबाले भोग्न नपरोस् भन्ने नै हाम्रो चाहना हो।
लागूऔषध दुर्व्यसनभन्दा घातक शत्रु अरू केही छैन।
के सोचेका थियौँ, के भयो!

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल

















