नेपाली सनातन हिन्दु धर्ममा आस्था राख्ने श्रद्धालु महिला दिदी, बहिनीहरूद्वारा श्रद्धा, धैर्य र साधनाका साथ गरिने व्रतहरूमध्ये श्री स्वस्थानी माताको व्रतएक अत्यन्तै कठिन, पवित्र र अर्थपूर्ण व्रतका रूपमा स्थापित छ।
‘स्वस्थानी’ शब्दको शाब्दिक अर्थ “आफू बसेको स्थानकी देवी” भन्ने हुन्छ। अर्थात्, आफू निवास गर्ने स्थानकी अधिष्ठात्री देवीको आराधना गर्नु नै स्वस्थानी पूजा हो। यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म, एक महिना निरन्तर रूपमा सञ्चालन हुन्छ।
उत्तरायणपछि सूर्यको गति आध्यात्मिक उन्नतितर्फ उन्मुख हुने विश्वास गरिन्छ। यही कारण यो समय ध्यान, योग र साधनाका लागि अत्यन्त उपयुक्त मानिन्छ। ‘स्व’ अर्थात् आत्मा र ‘स्थान’ अर्थात् चेतनाको केन्द्र आफ्नै अन्तरात्मासँग साक्षात्कार गर्ने अभ्यास नै स्वस्थानी व्रतको गूढ आध्यात्मिक अर्थ हो।
यस व्रतमा मुख्य रूपमा भगवान् शिवको पूजा, आराधना गरिन्छ। पौराणिक धार्मिक ग्रन्थहरू अनुसार सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउने कामनासहित श्री स्वस्थानी व्रत गरेकी थिइन्। उक्त व्रत सफल भई शिव, पार्वतीको दिव्य विवाह सम्पन्न भएको विश्वास रहँदै आएको छ।
शिव र पार्वतीबीच भएको अन्तरसंवादबाट नै योग, ध्यान र साधनाको प्रारम्भ भएको मानिन्छ। यही दिव्य संवादलाई गर्ग ऋषि, पतञ्जली ऋषि लगायत अन्य महर्षीहरूले अभ्यास र विस्तार गर्दै आजको विश्वसम्म योग, ध्यानको परम्परा पुर्‍याएका हुन्।
श्री स्वस्थानी व्रतको प्रभावले सुख, शान्ति, समृद्धि प्राप्त हुनुका साथै रोग, व्याधि नष्ट हुने विश्वास गरिन्छ। व्रतकथामा वर्णित शिव, पार्वती विवाहका प्रसङ्गहरूका कारण यो व्रत परम्परागत रूपमा पुस्तौँदेखि चल्दै आएको छ।

धार्मिक विश्वास :

स्वस्थानी व्रतकथाअनुसार महादेवकी पत्नी सतीदेवीले पिता दक्ष प्रजापतिले महादेवको अपमान गरेको सहन नसकी यज्ञकुण्डमा प्राण त्याग गरेपछि हिमालय र मेनकाकी छोरीका रूपमा पार्वतीको अवतार लिएकी हुन्।
सानै उमेरदेखि पार्वतीले महादेवलाई पति पाउने आकांक्षा राख्दै कठोर तपस्या गरिन्। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गर्ने कुरा थाहा पाएपछि पार्वती वनमा गई महादेवको ध्यान गर्न थालिन्।
उनको तपस्याबाट प्रसन्न भई महादेवले विष्णुको सल्लाहअनुसार श्री स्वस्थानी व्रत गर्न निर्देशन दिए। पार्वतीले विधिपूर्वक एक महिना व्रत गरेपछि महादेव पति पाएको विश्वास गरिन्छ। यही कारण यो व्रतकथा आजसम्म श्रद्धापूर्वक सुनिने र सुनाइने परम्परा बनेको छ।

व्रतको नियम:-

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर ब्रत आरम्भ हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा अराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार र अगस्त्य मुनी बीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा स्थानिय वा पायक पर्ने महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्धा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्येको एक उत्कृष्ट श्री स्वस्थानी माताको व्रत मानिन्छ । यो व्रतको भारत लगायत अन्य सनातन हिन्दु धर्मावलम्वी राष्ट्रहरुमा समेत स्वस्थानी व्रत एवं पुजा आरधना अति प्रचलीत रहेको पाइन्छ । तर जति नेपालमा लोकप्रिय र विश्वसनियता छ त्यसको तुलनामा अन्य मुलुक हरुमा भने कमै ख्याती रहेको पाइन्छ । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी साँखु र श्लेशमान्तक वन आदी नेपालमा आवशथित हुदाँ नेपालमा लोकप्रीय अत्याधिक हुनु स्वभाविक पनि मानिन्छ । साली नदिमा माघमा एक महिना सम्म मेला लाग्दछ र ऊक्त मेला र पर्व अवलोकन तथा स्नानादी का निम्ति देश विदेश बाट समेत उल्लेख्य मात्रामा भक्त जन आउने गरेको पाइएको छ ।यस व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपाल कै सेरोफेरोमा घटित भएको भनी स्कन्द पुराणमा उल्लेख्य विवरण समेत रहेको हुनाले । सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्रि पार्वतीले श्री महादेव लाई पति पाँऊ भनि गर्नु भएको थियो भन्ने चर्चा ले नेपालको अपनत्व बढी देखिएको पाइन्छ ।

पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य दुध दहि, जौं, गहुँ चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापनार्थ पूजा स्थान को सुद्धतार्थ गौ मुत्र तथा गोमय (गोबर) द्वारा लिपपोत गरि स्वस्थानी ब्रत पुजा आरम्भ गरिन्छ । प्रारम्भ देखी समापन सम्म संपूर्ण विलाशिता युक्त साधन र श्रोत को परित्याग गरी भूमिमा शयन गर्र्ने गरिन्छ । एक कालिन सात्विक भोजन मात्र गरिन्छ । यदि ब्रतालु पुरुष भए रौं नकाटि पनि एक महिना सम्म कसैसँग झगडा नगरी दुर्वचन नबोली , झुटो नबोली क्रोध नगरी , कसै प्रति दुर्भाव नराखि , ब्रह्मचर्य को पालन गरि , शुद्घ धोएका बस्त्रहरू मात्रै लगाइ , सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु व्रतका अनिबार्य नियमहरू रहेकाछन । यो एक कठोर व्रत भनी माथी उल्लेख गरिए झै पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य (गोबर, गोमुत्र, दुध, दहि र घ्यू) का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिषेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । त्यसपछी त्यसै अभिषेकबाट ‘ मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख, सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु ’ भनी नियम अनुसार संकल्प गरी व्रतको सुरुवात गरिन्छ ।
श्री स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशुल, तरवार, चक्र र कमल धारण गर्नु भएकी । पग्लिएको सुनको जस्तै पहेलो वर्ण भएकी । विविध आभूषण हरूले सोभायमान श्री स्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुनुहुन्छ र आदिशक्ती स्वरुपा भएकीले आफ्ना भक्तजनहरूलाई मनले चिताएको फल तुरन्तै दिने गर्नुहुन्छ । अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्दै । प्रतेक दिन बिहान दिप गणेश र कलश को पूजा गर्नुका साथै माथी उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, बाटेको धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , सेलरोटी, हलुवा फलादी इत्यादीले गर्नु पर्दछ । पूजा पछि दुबै हातमा फूललिई हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरी साष्टाङ्ग दण्डवत् गरिन्छ ।
सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।
अर्थात :- सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु भनी यसरी पौराणिक धार्मिक ग्रन्थमा उल्लेखित नियमपालना गरि लिएको व्रत
माघ शुक्ल पूर्णिमाको दिन नित्य भनिने कथा समापन गरिन्छ र विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै श्री महादेवको पुजा गरिन्छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउने गरिन्छ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछि १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछि श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख कष्ट नास भै मनोकामना पूर्णहुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरीएको पाइन्छ।
आजको नेपाली समाज असामान्य रूपमा भौतिकवादतर्फ अघि बढिरहेको देखिन्छ। हामी आदि भौतिक, आदि आध्यात्मिक र आदि दैविक दृष्टिकोणलाई बिर्सँदै गएका छौं। हाम्रो मौलिक धर्म, संस्कृति, रीति, रिवाज र परम्परा क्रमशः हराउँदै, नासिँदै गएको अवस्था छ।
जताततै पाश्चात्य संस्कृतिको व्यापक प्रभाव छरिएको छ, जसले हाम्रो सभ्यता र सांस्कृतिक पहिचानमाथि भीषण सांस्कृतिक आक्रमण जस्तो प्रभाव पारिरहेको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा, हामी धर्मप्रेमी महानुभावहरूले आफ्नो मौलिक संस्कृति र परम्परा जोगाउने प्रयास गर्नु नै हाम्रो धर्म, कर्तव्य र स्वाभिमानको परिचायक हो।
हामीले आफ्नो धरोहर र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्छ, ताकि हाम्रो साँस्कृतिक चेतना र राष्ट्रिय गौरव दीगो रहोस्।
जय स्वस्थानी माता। ॐ नमो शिवाय।

इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल
तथा चेतना नेपाल
भद्रपुर ७ चन्द्रगढी झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार