नयाँ दिल्ली ।भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहका बिच राष्ट्रपति द्रौपदी मुर्मूले देशका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई पद्म पुरस्कारबाट सम्मानित गर्नुभएको छ। यस वर्षको मानपदवी सूचीमा मनोरञ्जन क्षेत्रका कयौँ दिग्गज कलाकारहरू समेटिएका छन्, जसमा बलिउडका सदाबहार अभिनेता दिवंगत धर्मेन्द्रदेखि मलयालम सिनेमाका सुपरस्टार ममुटीसम्म रहनुभएको छ।
६ दशक लामो अभिनय यात्राका माध्यमबाट भारतीय चलचित्र जगत्मा अतुलनीय योगदान पुर्याउनुभएका दिग्गज अभिनेता धर्मेन्द्रलाई मरणोपान्त देशको दोस्रो सर्वोच्च नागरिक सम्मान ‘पद्म विभूषण’ बाट विभूषित गरिएको छ। गत वर्ष २४ नोभेम्बर २०२५ मा निधन हुनुभएका अभिनेता धर्मेन्द्रको तर्फबाट उहाँकी पत्नी एवं अभिनेत्री हेमा मालिनीले छोरी आहानाका साथ समारोहमा उपस्थित भई सो उच्च सम्मान ग्रहण गर्नुभएको थियो।
चलचित्र तथा टेलिभिजन क्षेत्रमा आफ्नो उत्कृष्ट अभिनय र उत्कृष्ट कमेडि भूमिकाका लागि चर्चित अर्का दिवंगत अभिनेता सतीश शाहलाई पनि मरणोपान्त ‘पद्म श्री’ उपाधिद्वारा सम्मानित गरिएको छ। शाहले ‘जाने भी दो यारों’ देखि ‘साराभाई भर्सेज साराभाई’ सम्मका चरित्रहरू मार्फत दर्शकमाझ अमिट छाप छोड्नुभएको छ भने बहुमुखी अभिनेता आर. माधवनलाई पनि यस वर्ष ‘पद्म श्री’ प्रदान गरिएको छ।
यसैगरी, मलयालम चलचित्रका महानायक ममुटी र सङ्गीत आकाशकी प्रख्यात पार्श्व गायिका अलका याज्ञनिकलाई ‘पद्म भूषण’ सम्मान प्रदान गरिएको छ। विगत कयौँ दशकदेखि ३०० भन्दा बढी चलचित्रमा सक्रिय रहनुभएका ममुटी र बलिउडलाई अनगिन्ती सदाबहार गीतहरू दिनुभएकी गायिका याज्ञनिकको उपस्थितिले यस पटकको पद्म पुरस्कार समारोहलाई मनोरञ्जन उद्योगकै लागि एक गौरवमय उत्सवका रूपमा स्थापित गरिदिएको छ।

















