[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

बिर्तामोड, असार १। ​पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा एउटा ठूलो गुणात्मक फड्को मार्दै बिर्तामोडस्थित निजी क्षेत्रकै ठूलो स्वास्थ्य नेटवर्क ‘बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल’ तथा ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ देशकै अग्रणी र विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुन थालेका छन्। “सबै सेवा एउटै छानामुनि” भन्ने मूल अवधारणाका साथ आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरू परिचालन गरेर यी दुवै अस्पतालले पूर्वी नेपालका नागरिकलाई मात्र नभई देशकै समग्र स्वास्थ्य क्षेत्रको ध्यान आकर्षित गरेका हुन्। सोमबार अस्पताल परिसरमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत संस्थाले आफ्नो सेवा विस्तार, पछिल्ला उपलब्धि र भावी रणनीतिक योजनाहरू सार्वजनिक गर्दै राजधानी बाहिर पनि अन्तर्राष्ट्रिय स्तरको भरपर्दो र सर्वसुलभ उपचार सम्भव छ भन्ने दृष्टान्त पेस गरेको छ।

​आधुनिक स्वास्थ्य सेवाको अवधारणालाई आत्मसात गरेको यस हस्पिटलमा हाल २२ वटा क्लिनिकल विभागहरू पूर्ण रूपमा सञ्चालनमा छन्, जहाँ १५ जना प्रोफेसर, ४ जना एसोसिएट प्रोफेसर, ८० जना लेक्चरर, ६४ जना मेडिकल अफिसर र ३५६ जना दक्ष नर्सिङ जनशक्तिसहित ठूलो संख्यामा प्राविधिक टोली चौबीसै घण्टा सेवामा खटिएका छन्। विशेषगरी नेफ्रोलोजी, एन्डोक्राइनोलोजी, कार्डियोलोजी र पल्मोनोलोजी जस्ता विधामा डीएम तथा एमसीएच गरेका सुपर स्पेसियालिटी विशेषज्ञहरूले सेवा दिइरहेका छन् भने रोग निदानका लागि अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक डायग्नोस्टिक सेवाहरू उपलब्ध गराइएको छ।

​विगत एक वर्षको तथ्याङ्कले पनि अस्पतालमाथि नागरिकको भरोसा कति प्रगाढ छ भन्ने प्रष्ट पार्छ। आर्थिक वर्ष २०८२ को अवधिमा मात्रै अस्पतालको बहिरंग सेवा (ओपीडी) बाट ५ लाख ४ हजार, अन्तरंग सेवा (भर्ना) बाट २० हजार १६० र आकस्मिक कक्षबाट १८ हजार ७२० जना बिरामीले उपचार पाएका छन्। सोही अवधिमा ६ हजार ४८० वटा जटिल शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न भएका छन् भने सघन उपचारतर्फ आईसीयू, एनआईसीयू र पीआईसीयू लगायतका क्रिटिकल केयर सेवाहरूबाट ३ हजार ३२० जनाले नयाँ जीवन पाएका छन्। पूर्वी नेपालमा मुटुरोगको उपचारका लागि काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यतालाई तोड्दै अस्पतालले एकै वर्षमा ५५२ वटा एन्जियोग्राफी र २०४ वटा एन्जियोप्लास्टी सफलतापूर्वक सम्पन्न गरेर मुटुरोग उपचारको क्षेत्रमा ठूलो योगदान पुऱ्याएको छ।

​सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै अस्पतालका तर्फबाट विभागीय प्रमुख तथा वरिष्ठ चिकित्सकहरूले आ-आफ्नो विभागमा भए गरेका कामकारबाही, जटिल उपचारका अनुभव र उपलब्ध प्रविधिबारे विस्तृत जानकारी गराउनुभएको थियो। यसरी जानकारी दिनेहरूमा बि एण्ड सी मेडिकल कलेजका मेडिकल डाइरेक्टर प्रा. डा. बालभद्र प्रसाद दास, मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. उमेश कुमार शर्मा र पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र कुमार यादव हुनुहुन्थ्यो।

​त्यसैगरी मेडिसिन विभागका प्रमुख प्रा. डा. प्रल्हाद कार्की, अर्थोपेडिक विभागका प्रमुख एशोसिएट प्रा. डा. निरञ्जन प्रसाद पराजुली, सर्जरी विभागका प्रमुख असिस्टेन्ट प्रा. डा. बासुदेव बास्कोटा र युरोलोजी विभागका प्रमुख डा. अमित कुमार साहले आ-आफ्नो विभागले हासिल गरेका चिकित्सा क्षेत्रका उपलब्धिहरू प्रस्तुत गर्नुभयो। स्त्री तथा प्रसूति (गायने) विभागकी प्रमुख डा. ज्योति भजु लामा, प्याथोलोजी विभागका प्रमुख डा. उज्ज्वल राई, इमर्जेन्सी विभागका प्रमुख प्रा. डा. प्रमोद कुमार सर्राफ, साइकियाट्री (मानसिक रोग) विभागका प्रमुख प्रा. डा. प्रमोद कुमार स्याम्वो, नेफ्रोलोजी विभागका प्रमुख डा. राजेश कुमार कापर र कार्डियोलोजी (मुटुरोग) विभागका प्रमुख डा. उमेश यादवले पनि आ-आफ्नो विभागमार्फत प्रवाह भइरहेका विशिष्टीकृत सेवाहरू र बिरामीले पाएको राहतबारे प्रकाश पार्नुभएको थियो।

​व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेको अस्पतालले सरकारको विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गतका सेवाहरूलाई प्रभावकारी रूपमा लागू गरेको छ। विपन्न मिर्गौला रोगीहरूको सहजताका लागि अस्पतालले सञ्चालन गरिरहेको निःशुल्क डायलाइसिस सेवाबाट गत वर्ष ७ हजार १ सय ८६ जना बिरामी लाभान्वित भएका छन्। बिरामीको समग्र व्यवस्थापनका लागि जनरल वार्ड, अत्याधुनिक क्याबिन, सीसीयू र एचडीयूसँगै परिपूरक सेवाका रूपमा फिजियोथेरापी, पोषण तथा आहार व्यवस्थापन र वैज्ञानिक बिरामी भोजन सेवा समेत एकीकृत रूपमा उपलब्ध छन्।

​पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बि एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न वर्गका नागरिकलाई लक्षित गर्दै सधैँ सर्वसुलभ रूपमा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। राज्यको तर्फबाट केही समयका लागि स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएको भए तापनि बिरामीहरूको मर्का र स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै उपचारमा आर्थिक भार पर्न नदिन अस्पतालले आफ्नै तर्फबाट विशेष छुटको व्यवस्था समेत गरेको अधिकृत गिरीले जानकारी दिनुभयो। अस्पताल प्रशासनका अनुसार यहाँ गरिने हरेक उपचार योजना र शल्यक्रिया सम्बन्धी निर्णयहरू अनुभवी विशेषज्ञ चिकित्सक, नर्सिङ र प्राविधिक टोलीको सामूहिक परामर्श एवं वैज्ञानिक मूल्याङ्कनका आधारमा मात्र तय गर्ने विशेष प्रणाली अपनाइएको छ।

​अस्पताल व्यवस्थापन पक्षले गुणस्तरीय, सुरक्षित, पहुँचयोग्य र प्रविधिमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै भविष्यमा थप सुपर स्पेसियालिटी सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग र चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने जनाएको छ। मोफसलमै अन्तर्राष्ट्रिय स्तरको उपचार सर्वसुलभ दरमा उपलब्ध गराएर बि एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालले नेपालको स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायहरूलाई समेत प्रादेशिक अस्पतालहरूको क्षमताबारे नयाँ दृष्टिकोण दिने काम गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार