झापा, १२ जेठ: अर्जुनधारा–५ मा जारी वडा स्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर २ लाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो । यसअघि आइतबार भएको पहिलो क्वाटरफाइनल खेलबाट वडा नम्बर ११ सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा निर्धारित समयको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा वडा नम्बर ५ का निशान वि.के., विपिन गजमेर र प्रविन वास्केले गोल गरे । वडा नम्बर २ का विशाल नेपाल र प्रनिश लिम्बूले मात्र गोल गर्न सके ।
टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ५ का गोलरक्षक प्रविन वास्के ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे । उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेती तथा अर्जुनधारा–५ का वडाध्यक्ष गिताराज खड्काले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधारा–८ र अर्जुनधारा–९ भिड्ने आयोजक समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

नगर भित्रका ११ वटै वडाको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने समितिका अध्यक्ष धिमालले बताए । गोलधाप युवा क्लब सह–आयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुनेछ ।
















