झापा। झापाको अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को पाँचौं खेलमा विराटनगरको लायन्स क्रिकेट एकेडेमीले रोमाञ्चक जित दर्ता गरेको छ । शुक्रबार सम्पन्न खेलमा लायन्सले इनरुवाको फुलबारी स्पोर्ट्स एकेडेमीलाई १२ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको लायन्स क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । टोलीको ब्याटिङमा युबराजसिंह बेगवानीले ४५ रनको महत्वपूर्ण योगदान दिए भने आशिष अधिकारीले २४ र सुवास मण्डलले १५ रन जोडे । बलिङतर्फ फुलबारीका समार्थ रायले २ विकेट तथा दिवश विष्ट र जेनिश ठाकुरले १–१ विकेट लिएका थिए ।
१२३ रनको लक्ष्य पछ्याएको फुलबारी स्पोर्ट्स एकेडेमीले २० ओभरमा ६ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो । फुलबारीका आरम्भ भट्टराईले २२, समार्थ रायले १८ र प्रिन्स कुमार शाहले १७ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । लायन्सका करिताथा बस्नेतले २ विकेट लिए भने शाश्वत बस्नेत र संस्कार भट्टराईले १–१ विकेट लिँदै विपक्षी ब्याटरलाई दबाबमा राखेका थिए । यो जित लायन्सका लागि अघिल्ला दुई खेलको हारपछि महत्त्वपूर्ण सावित भएको छ भने लगातार दुई जित निकालेको फुलबारीले पहिलो हार बेहोरेको छ ।
यसैगरी शुक्रबार नै भएको समूह ‘बी’ को अर्को खेलमा भारत, कोलकाताको क्रिकेट जोन अन्दलले इनरुवा क्रिकेट एकेडेमीमाथि १८ रनको जित निकाल्दै सुखद सुरुवात गरेको छ । अन्दलको जितमा सुमितले ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितामा नेपाल र भारतका १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


















