झापा ।सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २० अर्ब रुपैयाँ व्ययभार जोगाएको दाबी गरेको छ। सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार नीतिगत सुधार कार्यक्रमअन्तर्गत यसअघि कायम रहेका २५ वटा मन्त्रालयको संख्या घटाएर १८ मा झारिएको छ। यसरी संरचनागत रूपमै व्यापक परिवर्तन गरिएपछि हाल १७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको र यसबाट मुलुकको ठूलो प्रशासनिक खर्च जोगिने प्रवक्ता पोखरेलले स्पष्ट पारे। मन्त्रालय घटाउने यो कदम सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचापत्रमा गरेको प्रतिवद्धताअनुरूप नै कार्यान्वयनमा ल्याइएको उनले बताए।
प्रवक्ता पोखरेलले मन्त्रालयहरूको संख्या घटाइए पनि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भने नयाँ थपिएको जानकारी दिए। मन्त्रालयको संख्या घटाउने तथा नीतिगत सुधार गर्ने अभियानअन्तर्गत नै सरकारले ट्रेड युनियनहरू समेत खारेज गर्ने निर्णय गरेको उनले बताए। सरकारले आफ्नो सय दिने कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्ने क्रममा प्रशासनिक खर्च कटौती र सुशासनलाई आफ्नो मुख्य सफलताको रूपमा प्रस्तुत गरेको हो।








