स्वास्थ्य
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

हल्दिबारीको गोलधाप बजारमा डेङ्गी नियन्त्रण अभियान: लार्भा नष्ट गर्दै फैलाइयो जनचेतना

हल्दीबारी (झापा) — झापाको हल्दीबारी गाउँपालिका-१ स्थित गोलधाप बजार क्षेत्रमा डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि स्थानीय तह र सरोकारवालाहरूले सक्रियता देखाएका छन्। लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गीको जोखिम न्यूनीकरण गर्न बजार क्षेत्रमा एकदिने जनचेतनामूलक कार्यक्रमका साथै ‘लार्भा खोजी र नष्ट गर्ने’ अभियान सम्पन्न गरिएको हो।

Advertisement

​हल्दीबारी गाउँपालिकाको आयोजनामा भएको उक्त अभियानमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको टोलीले बजारका विभिन्न पसल, होटल तथा सार्वजनिक स्थलहरूको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा टोलीले पानी जम्ने भाँडाकुँडा, कबाडीमा राखिएका पुराना टायर, खुला ड्रम तथा डेङ्गी फैलाउने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टे हुर्कन सक्ने सम्भावित स्थानहरूको खोजी गरी फेला परेका लार्भाहरू नष्ट गरेको छ।

Advertisement

​अभियानका क्रममा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूले स्थानीय व्यवसायी र सर्वसाधारणलाई घर तथा व्यवसायिक स्थल वरपर पानी जम्न नदिन र नियमित सरसफाइ गर्न आग्रह गर्दै सचेतना फैलाएका थिए। कार्यक्रममा सहभागी वक्ताहरूले डेङ्गी नियन्त्रण केवल स्वास्थ्य संस्थाको मात्र नभई सिंगो समुदायको जिम्मेवारी भएको औंल्याएका छन्।

​वडा नं. १ का वडा अध्यक्ष देवीबहादुर थापाले डेङ्गीको प्रकोप बढ्न नदिन नागरिक आफैं सजग हुनुपर्ने र आफ्नो घर तथा कार्यथलो सफा राख्नु नै यसबाट बच्ने मुख्य उपाय भएको बताउनुभयो। त्यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले लामखुट्टेको उत्पादनस्थल नै नष्ट गर्नु डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी कडी भएको उल्लेख गर्दै यसका लागि पालिकाले निरन्तर निगरानी र सचेतनाका कार्यक्रम गरिरहने प्रतिबद्धता जनाउनुभयो।

​उक्त अभियानमा वडा नं. १ का स्वास्थ्य प्रमुख यामप्रसाद नेउपाने, स्वास्थ्यकर्मी बालकुमार प्रधान, स्थानीय जनप्रतिनिधिहरू तथा गोलधाप प्रहरी चौकीका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। बर्खायाम सुरु भएसँगै फैलिन सक्ने डेङ्गीको महामारीलाई समयमै रोक्न यस्ता अभियानलाई पालिकाका अन्य वडाहरूमा पनि विस्तार गरिनुपर्ने स्थानीयको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article