काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या बहुमत नजिक पुगेको दाबी गरिएको छ । पक्षधर समूहका अनुसार झापाबाट मात्रै ७२ जना प्रतिनिधि विशेष महाधिवेशनको समर्थनमा खुलेका छन् ।
देशभरबाट हालसम्म २ हजार ५ सय ७१ प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको पक्षधरको दाबी छ । कोशी प्रदेशका १४ वटै जिल्लामा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएको उनीहरूको भनाइ छ ।
कोशी प्रदेशअन्तर्गत सुनसरीबाट ७८, मोरङबाट ९७, इलामबाट ३७, पाँचथरबाट १९, ताप्लेजुङबाट १३, संखुवासभाबाट २०, तेह्रथुमबाट २१, भोजपुरबाट १५, धनकुटाबाट १६, खोटाङबाट १३, सोलुखुम्बुबाट १८, ओखलढुङ्गाबाट १३ र उदयपुरबाट ४२ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट पनि बहुमत प्रतिनिधिले समर्थन जनाएका छन् । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाबाट समेत उल्लेख्य संख्यामा हस्ताक्षर संकलन भएको दाबी गरिएको छ ।
केन्द्रीय समितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेपछि त्यसलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना हुने तय भएको छ ।
विशेष महाधिवेशन पक्षधरले आफूहरूसँग निर्णायक बहुमत रहेको दाबी गर्दै प्रक्रिया अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
3
+1
2
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार