काठमाडौँ — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गर्दै सम्मानित गरेको छ । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै वन्तलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।
काठमाडौँमा हालै आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा वन्तको दीर्घकालीन व्यावसायिक यात्रा र योगदानको उच्च मूल्याङ्कन गरिएको थियो । राष्ट्रिय समाचार समिति (रासस) मा वरिष्ठ फोटोपत्रकारका रूपमा कार्यरत वन्त विगत दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका उनले आफ्नो क्यामेरामार्फत नेपाली समाजका विविध पक्षलाई विश्वसामु उजागर गर्दै आएका छन् ।
नेपालको फोटो पत्रकारिता क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन वन्तले देशका विभिन्न प्रदेश र जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी नयाँ पुस्ताका पत्रकारहरूलाई दक्ष बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसअघि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा फोटोपत्रकारका रूपमा र निर्वाचन आयोगमा आधिकारिक फोटोग्राफरका रूपमा समेत कार्यरत थिए । फोटो पत्रकारितामै पुर्याएको योगदानका लागि उनले यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘बेस्ट फोटो जर्नालिस्ट अफ द इयर २०१६’ र बङ्गलादेशको ढाकाबाट अन्तर्राष्ट्रिय ‘इम्पेरियल फोटो जर्नालिज्म अप्रिसिएसन’ जस्ता प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।
वर्ल्ड बुक अफ रेकर्ड्सले आयोजना गरेको उक्त विशेष समारोहमा वन्तसँगै नेपाल र भारतका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा नेपाली कला क्षेत्रका अग्रज कलाकारहरू मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, निर्देशक तुलसी घिमिरे, अभिनेत्री मनीषा कोइराला र नृत्य निर्देशक बसन्त श्रेष्ठ रहेका छन् । त्यस्तै, पर्वतारोही मिङ्मा डेभिड शेर्पा, साहित्यकार उषा शेरचन, कोरियोग्राफर रोजिन शाक्य तथा स्वास्थ्य र सुरक्षा क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
विभिन्न देशका कला, साहित्य, स्वास्थ्य, पर्यटन र उद्यमशीलता क्षेत्रका सफल व्यक्तित्वहरू सहभागी सो कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक र व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । वन्तजस्ता बहुआयामिक व्यक्तित्वलाई प्रदान गरिएको यो सम्मानले नेपालको फोटो पत्रकारितालाई अन्तर्राष्ट्रिय जगतमा थप स्थापित गर्न मद्दत पुगेको सरोकारवालाहरूले बताएका छन् ।

















