झापा । झापा गाउँपालिका क्षेत्रभित्रका करदाताहरूले अब स्थायी लेखा नम्बर (प्यान) र करचुक्ता प्रमाणपत्र लिन आन्तरिक राजस्व कार्यालय भद्रपुर धाइरहनु नपर्ने भएको छ। नेपाल सरकारको मिति २०८२/०७/१७ को निर्णय बमोजिम आन्तरिक राजस्व कार्यालयले प्रदान गर्दै आएका विभिन्न सेवाहरू अब गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुने गरी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
यस समझदारीसँगै अब झापा गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूले व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) र गाउँपालिकामा दर्ता भएका व्यवसाय तथा निकायहरूले व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) स्थानीय तहबाटै प्राप्त गर्न सक्नेछन्। साथै, करदाताहरूले करचुक्ता प्रमाणपत्र लिन र आफ्नो दर्ता सम्बन्धी विवरणहरू संशोधन गर्नुपरेमा आवश्यक कागजात र प्रमाण भिडान गरी सोही स्थानबाट सेवा लिन पाउने व्यवस्था मिलाइएको छ।
यसअघि सामान्य कामका लागि पनि सदरमुकाम भद्रपुर पुग्नुपर्ने बाध्यता रहेका झापा गाउँपालिकाका बासिन्दा र व्यवसायीहरूलाई यो निर्णयले ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ। संघीयताको मर्म अनुसार स्थानीय स्तरमै प्रशासनिक सेवाको पहुँच पुर्याउँदा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै कर प्रशासनलाई थप व्यवस्थित र सुलभ बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

















